२९ आश्विन २०८३, बिहिबार

वीरमा वर्ष दिनदेखि सिटिस्क्यान बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौं, ५ साउन । मुलुककै पुरानो र ठूलो सरकारी अस्पताल वीरमा एक वर्षदेखि सिटिस्क्यान सेवा ठप्प बनेको छ। उपकरण खरिद तथा मर्मतका लागि कमिसनको खेल चल्दा वीर अस्पतालले सिटिस्क्यान सञ्चालन गर्न नसकेको हो।

१४ वर्षअघि २ करोड ९० लाख रुपैयाँमा खरिद गरिएको सिटिस्क्यान मेसिन बिग्रिएर थन्किएको छ। त्यसलाई मर्मत गर्न १४ लाख रुपैयाँ मात्रै लाग्ने भए पनि अस्पतालले चासो देखाएको छैन। नयाँ खरिद गर्न पटक–पटक बजेट विनियोजन भए पनि कुन कम्पनीको र कस्तो किन्ने भन्नेमा पदाधिकारीबीच कुरा नमिल्दा प्रक्रिया अघि बढ्न सकेको छैन। यसले बर्सेनि बजेट फ्रिज हुने गरेको छ।

वीरको पुरानो सिटिस्क्यान मेसिन सिंगल स्लाइसको हो। जापानस्थित सिमाजु कम्पनीको उक्त मेसिन नेपालस्थित मध्यस्थकर्ता कम्पनी प्यासिफिक कमर्सियलमार्फत खरिद गरेर २०५७ पुस १७ देखि सञ्चालनमा ल्याइएको थियो। विश्व बजारमा ५१२ स्लाइसको सिटिस्क्यान आइसकेको छ। नेपालका अस्पतालले भने हालसम्म १२८ स्लाइससम्मका सिटिस्क्यान मेसिन ल्याएका छन्।

वीरका वरिष्ठ रेडियोग्राफर अधिकृत कृष्ण कोइराला मर्मत गरेर सञ्चालन गरे पुरानो मेसिनले अझै केही वर्ष काम गर्ने बताउँछन्। उनका अनुसार सुरुमा जडान गरेपछि चार वर्षसम्म मेसिनमा कुनै समस्या थिएन। त्यसपछि भने प्रत्येक वर्ष कुनै न कुनै समस्या आइरहेको छ।

पछिल्लोपटक २०७० साउन २९ गते सिपियुको इलेक्ट्रोनिक बोर्ड जलेपछि सिटिस्क्यान मेसिन थन्किएको हो। भदौ ५ गते गुजरातबाट आएका सिमाजु कम्पनीका इन्जिनियरले सिपियुमा डिजिटल इमेजिङ एन्ड कम्युनिकेसन इन मेडिसिन सफ्टवेयर राख्न सुझाव दिएका थिए। उनीहरूले जडान गर्नुपर्ने सामान र उपकरणबारे स्थानीय प्राविधिकलाई सुझाव दिएका थिए।
नागरिक दैनिकबाट