२८ आश्विन २०८३, बुधबार

पर्सामा भाइरल ज्वरोको प्रकोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joroपर्सा, ४ साउन । पर्साको ग्रामीण भेगमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

ग्रामीण भेगका ठोरी, निर्मलवस्ती र सुवर्णपुर गाविसमा भाइरल ज्वरोको बिरामी बढेका हुन् । दूषित पानीको प्रयोग गर्दा भाइरल ज्वरोले समात्ने सुवर्णपुर स्वास्थ्य चौकीका इन्चार्ज रमेशराज थिङले बताए ।

सुवर्णपुर स्वास्थ्य चौकीमा दैनिक तीन दर्जनभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको इन्चार्ज थिङले बताए । त्यस्तै निर्मलवस्ती गाविसको स्वास्थ्य चौकीमा पनि दैनिक ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज रामसेवक पाण्डेले बताए ।

वर्षाको दूषित पानी प्रयोग र घरवरपर सरसफाइ नहँदा भाइरल ज्वरोको सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । निर्मलवस्ती स्वास्थ्य चौकीमा दुईदेखि पाँच वर्ष र १५ देखि ६० वर्षसम्मका बिरामी धेरै आउने गरेको इन्चार्ज पाण्डेले जानकारी दिए ।

त्यसैगरी ठोरीको निजी स्वास्थ्य क्लिनिकमा पनि दैनिक ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको ठोरी–३ सरस्वती चोकका जनसेवा स्वास्थ्य क्लिनिकका सञ्चालक दीपेन्द्र कार्कीले बताए ।

निजी स्वास्थ्य क्लिनिकमा ठोरीसँग सीमा जोडिएको चितवनको बाँदरझुलाबाट उपचारका लागि आएका बिरामीमा पनि भाइरल ज्वरो देखिएको उनले बताए ।

भाइरल ज्वारोबाट बच्न पानीलाई उमालेर अथवा निर्मलीकरण गरेर मात्र पिउन, आराम गर्न र घाममा नहिँड्न चिकित्सकले सुझाव दिएका छन् ।