२९ आश्विन २०८३, बिहिबार

बिजुली किन्न भारतका कडा सर्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-flagकाठमाडौं, ४ साउन । नेपालले चार वर्षअघि पिटिए विद्युत व्यापार सम्झौता गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ।

नागरिकलाई प्राप्त विवरणअनुसार भारतले राखेका प्रमुख सर्तमा बिजुलीको व्यापारिक मूल्य तोक्ने संयन्त्र वा निकाय नहुने, त्यसमा निजी क्षेत्रको समेत संलग्नता हुनु नहुने र नेपालले बेच्न चाहेको बिजुलीको मूल्य भारतीय बजारको चलनचल्ती मूल्यभन्दा कम हुनुपर्ने उल्लेख छ।

जलविद्युत विकासका लागि त्यससँग सम्बन्धित तालिमका कार्यक्रम, दक्षता विकास र परामर्शदाता नियुक्ति प्रक्रियामा ुव्यापक रुपमा भारतीय पक्षको सहभागिता हुनुपर्नेु भारतको अर्को सर्त छ।

‘नेपालले आफ्नो आवश्यकताको किटान गरिसकेको र यो स्थिर भएकाले नेपाललाई चाहिएजति र खपत हुन सक्ने बिजुली राखिसकेपछि बाँकी भारतकै सर्तमा नेपालले निर्यात गर्नुपर्नेछ वा भारतले किन्नेछ,’ भारतले पठाएको मस्यौदा सर्तमा उल्लेख छ।

ऊर्जा मन्त्रालयमा यस्तो मस्यौदा आएपछि मन्त्री राधा ज्ञवालीले पूर्व जलस्रोत तथा ऊर्जामन्त्री र सचिवहरूलाई बोलाएर परामर्श गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार परामर्शमा सहभागी कसैले पनि भारतको यस्तो सर्त मानेर सम्झौता गर्नै नहुने सुझाव दिएका छन्। यिनै सर्तअनुसार पिटिए गरिए ठूलो राष्ट्रघात हुने उनीहरुले सुझाएका छन्।

उक्त मस्यौदामा थप छलफल गर्न ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीको अगुवाइमा विद्युत विकास विभागका प्रतिनिधि, प्राधिकरणका कार्यकारी निर्देशकसहित सातजनाको टोली आइतबार भारत जाने तयारीमा थियो। तर, विभिन्न क्षेत्रबाट भारतीय पक्षले राखेका सर्तको विरोध भएपछि भ्रमण रद्द भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

ऊर्जामन्त्री ज्ञवालीले पिटिएमा जलस्रोतभन्दा बिजुली व्यापारका कुरा मात्र भएको बताउँदै आएकी छन्। तर, भारतले नेपालको सम्पूर्ण जलस्रोतमा स्वामित्व सुनिश्चित हुनुपर्ने अडान राखेको विज्ञ बताउँछन्।

विभागका एक अधिकारीले भने, ‘उसले बिजुली किनबेच प्राथमिकतामा राखेको छैन, पानी उपयोग, आयोजना पहिचान, परामर्श र निर्माणलगायत पक्ष समेटेर छाता सम्झौता गर्न खोजेको छ।’

नेपालले पठाएको पिटिए मस्यौदा बेवास्ता गरिएकाले सम्झौता नगरी बजार खोज्नुको विकल्प नरहेको पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले बताए। ‘यहाँ १६ घन्टासम्मको लोडसेडिङ छ, यो हाम्रो बजार हो, भारतले केही गरिदिँदैन,’ उनले शनिबार  भने, ‘५ हजार मेगावाट उत्पादन नहुँदासम्म व्यापार सम्भव छैन।’ नागरिक दैनिकबाट