काठमाडौं, २ साउन । राजधानीका हरेकजसो भान्सामा बिहानबेलुका पाक्ने अधिकांश तरकारीमा विषादीको मात्रा अत्यधिक फेलापरेको छ। सरकारले एक महिना परीक्षण गरी बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार राजधानीमा बेचिने भान्टा, करेला, अकबरे खुर्सानी, काउली, बोडी, तने बोडी, हात्तीसुँडे खुर्सानी, भिन्डी, आलु, फर्सीको मुन्टा, पालुंगो साग, केरा र आँपमा विषादी पाइएको छ।
त्यसमा पनि काभ्रेबाट काठमाडौं भित्रिने तरकारीमा सबैभन्दा धेरै विषादी भेटिएको छ। प्रतिवेदनअनुसार धेरै तरकारी उत्पादन हुने बारा, चितवन, मकवानपुर, पर्सा, धादिङ, काठमाडौं, भक्तपुर र काभ्रेबाट आउने अधिकांश तरकारीमा विषादी भेटियो। भारतबाट आउने तरकारीमा पनि विषादीको मात्रा उच्च छ।
एक महिनादेखि तरकारी परीक्षण गरिरहेको कालीमाटी तरकारीबजारस्थित द्रुत विषादी अवशेष विश्लेषण एकाइका अनुसार काभ्रेका पाँचखाल र पनौतीमा उत्पादन भएको तरकारीमा तुलनात्मक रूपमा बढी विषादी भेटिएको छ। काभ्रेमा उत्पादित तरकारीका ३८ वटा नमुनामध्ये आठवटामा उच्च परिमाणमा कार्वामेट र अग्रानो फस्फेट विषादी भेटियो।
बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माका अनुसार पाँचखाल र पनौतीमा उत्पादन भएका बोडी, हात्तीसुँडे खुर्सानी, सिमला खुर्सानी, भिन्डी र आलुमा विषादी भेटियो। पाँचखालमा उत्पादित हात्तीसुँडे खुर्सानीका दुईवटा नमुनामा ९५ प्रतिशत, सोही स्थानमा उत्पादित सिमला खुर्सानीमा ९४ प्रतिशत, पनौतीमा उत्पादित आलुका दुईवटा नमुनामा शतप्रतिशत र पाँचखालमा उत्पादित बोडीमा ९८ प्रतिशत विषादी भेटिएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट















प्रतिक्रिया