काठमाडौं, १ साउन । सरकारले समरपा रिम्पोचेको अन्त्येष्टि नेपालमा गर्न अनुमति दिने विश्वासका साथ उनका अनुयायी तयारीमा जुटेका छन्। काठमाडौंको रानीवनस्थित सर्मिनाभ इन्स्टिच्युट र गुम्बामा अन्त्येष्टिको तयारी भइरहेको छ।
देशभरका बौद्ध धर्मावलम्बी र सम्बन्धित संघसंस्थाले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृह मन्त्रालयमा अनुरोध गरिरहेका छन्। इन्स्टिच्युटका सल्लाहकार रमेश ढुंगेलका अनुसार बौद्ध धर्मअनुसार मृत्युपछि ३९ दिनसम्म गरिने पाठमा देशविदेशका लामा सहभागी छन्।
रानीवनस्थित इन्स्टिच्युटमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारले घटनाको गम्भीरता नबुझी तिब्बती बुद्ध परम्परामा निकै सम्मानित श्यामा रिम्पोचेको राजधानीमा निर्धारित अन्त्येष्टिमा व्यावधान लगाएको बताए। उनीहरूले त्यस्तो कुनै कानुन र अभ्यास मुलुकमा नभएको दाबीसमेत गरे।
श्यामा कोष, सर्मिनाभ इन्स्टिच्युटलगायत बौद्ध धर्मका संघसंस्थाले मंगलबार राष्ट्रपतिलाई भेटेर रिम्पोचेको अन्त्येष्टिमा सरकारले लगाएको व्यवधान फुकुवा गर्न आग्रह गरेका थिए।
भेटमा राष्ट्रपति डा. रामवरण यादवले आफूले रिम्पोचेलाई भेटिसकेको बताउँदै सरकारलाई पुनर्विचार गर्न पत्राचार गर्ने आश्वासन दिएको सल्लाहकार ढुंगेलले जानकारी दिए। विगत २० वर्षमा तीनजना उच्च तहका बौद्ध लामाको अन्त्येष्टिका लागि शव बाहिरबाट ल्याइएको तथ्य उनीहरूले सरकारसमक्ष पेस गरेका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट















प्रतिक्रिया