२९ आश्विन २०८३, बिहिबार

‘कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yarsaबझाङ, ३१ असार । दार्चुला आँखा कमजोर भएपछि काँडा गाविस–७, बाझका ५२ वर्षीय असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे। श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घरखर्च चलेको छ। यसपालि भने यार्साको मेलो अघिल्लो वर्षजस्तो फापेन।

यार्सा टिप्न गएका श्रीमती, छोराछोरी रित्तै हात त फर्के नै, १२ वर्षीय छोरा पुरनलाई उनीहरुले उतै गुमानुपर्योल। यार्सा संकलनकै क्रममा जेठ अन्तिम साता हिउँमा चिप्लँदा पुरनको ठाउँको ठाउँ प्राण उड्यो।

सदरमुकाम चैनपुरस्थित बालमन्दिरमा ६ कक्षा पढ्ने पुरन स्कुल भर्नालगत्तै सपरिवार यार्सा टिप्न गएका थिए। परिवारको घरखर्च मात्र होइन, चैनपुरको डेरा भाडा र पुरनको कापीकलम खर्च यार्साकै भर थियो। असमानले यार्साकै पैसाबाट दुई छोरा र चार छोरी चैनपुरमा पढाउँदै आएका थिए।

यस वर्ष भने यार्सा टिप्न नसकेको र त्यसमाथि छोरा गुमाउनुपर्दाको पीडा थपिएको छ उनीमाथि। बेखर्ची बन्नुपरेपछि बाँकी छोराछोरीको पढाइ छुटाउनुपर्ने चिन्ताले उनी पिरोलिएका छन्। ‘

मलाई यसपालि यार्सा फापेन, पहिले–पहिले जुन उचाइमा यार्सा पाइन्थ्यो, यसपालि त्यहाँ पाइन छाडेछ, अझ लेकमा जानुपर्योर, त्यही कारणले हिउँमा चिप्लेर छोरा गुमाएँ,’ रोकायाले भने, ‘हामीले यार्सा टिपेर ल्याउँदा स्थानीय प्रशासनलाई कर तिर्छौं, हाम्रै करले प्रशासन चल्छ, अहिले समस्या पर्दा क्षतिपूर्ति पनि दिनुपर्छ।’

उनले दाबी गरे पनि क्षतिपूर्ति पाइने सम्भावना भने कम छ। अहिलेसम्म यार्सा संकलन क्रममा ज्यान गुमाएका वा अंगभंग भएकाका परिवारलाई राज्यबाट कुनै किसिमको राहत तथा क्षतिपूर्ति व्यवस्था गरिएको छैन। घरमुलीले नै ज्यान गुमाएर परिवारको बिचल्ली भएका उदाहरण प्रशस्तै छन्। पीडित परिवार क्षतिपूर्तिका लागि हारगुहार गर्नसमेत पुग्छन्, तर सरकारी निकाय क्षतिपूर्तिको प्रावधान छैन भन्दै उम्किन खोज्छ। नागरिक दैनिकबाट