२९ आश्विन २०८३, बिहिबार

पालैपालो अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-countingकाठमाडौं, ३१ असार । एमालेमा नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानको पूरै परिणाम आउन अझै एक दिन कुर्नुपर्ने भएको छ। उम्मेदवार संख्याका कारण एउटै मत गन्न २० मिनेटसम्म लाग्नाले मतगणनाको गति अत्यन्त सुस्त छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि जारी मतगणनाको दोस्रो दिन अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपालले अग्रता लिएका छन्। अर्का प्रत्याशी संसदीय दल नेता केपी शर्मा ओलीले नेपाललाई झिनो मतान्तरले पछ्याइरहेका छन्।

आइतबार भएको मतगणनामा ओलीसहित उनको प्यानलले अग्रता कायम गरेकामा सोमबार बदलिएको हो।

बुथ नम्बर १, २ र ३ को मतगणना सम्पन्न हुँदासम्म अध्यक्षमा नेपालले संसदीय दलका नेता केपी शर्मा ओलीभन्दा ४७ मत बढी पाएका छन्। राति साढे १० बजे मतगणना स्थगन गर्नुअघिको परिणामअनुसार नेपालको मत ६ सय ४१ छ भने, ओलीको ५ सय ९३।

महासचिवमा नेपाल प्यानलकै सुरेन्द्र पाण्डेले ७६ मतको अग्रता बनाएका छन्। पाण्डेले ६ सय ६१ ल्याएका छन् भने ओली प्यानलका ईश्वर पोखरेलले ५ सय ८७ ले पछ्याइरहेका छन्।

१४ सदस्यीय पदाधिकारीमा नेपाल प्यानलका १३ उम्मेदवारको अग्रता छ। ओली प्यानलका प्रदीप ज्ञवाली ६ सय ४२ मतका साथ सचिवतर्फ पाँचौं स्थानमा छन्।

उपाध्यक्षमा नेपाल प्यानलका भीम रावल ६ सय ९०, युवराज ज्ञवाली ६ सय ८७, अष्टलक्ष्मी शाक्य ६ सय ७३, राजेन्द्र पाण्डे ६ सय ६३, लालबाबु पण्डित ६ सय ५८ मत प्राप्त गर्दै क्रमशः एकदेखि पाँचौं स्थानमा छन्।

उनीहरुलाई ओली प्यानलका वामदेव गौतम ६ सय ३६, विद्या भण्डारी ६ सय २०, किरण गुरुङ ५ सय ७२, प्रदीप नेपाल ५ सय ६१ र धर्मनाथप्रसाद साहले ५ सय ३९ मतका साथ पछ्याइरहेका छन्। शीर्ष पाँच मत ल्याउने नेता उपाध्यक्षमा निर्वाचित हुनेछन्।

उपमहासचिवमा पनि नेपाल प्यानलका घनश्याम भुसालले ६ सय ९४ मतसाथ आग्रता कायम गरेका छन्। दोस्रो स्थानमा नेपाल प्यानलका रघुजी पन्त ६ सय ३२ मतका साथ दोस्रो स्थानमा छन्।

पन्तभन्दा १४ मतले पछि परेका ओली प्यानलका विष्णु पौडेलको ६ सय १८, शंकर पोखरेल ५ सय ९१ मतका साथ चौथो स्थानमा छन्। नवौं महाधिवेशनदेखि व्यवस्था गरिएको उपमहासचिवमा दुईजना निर्वाचित हुनेछन्।

त्यसैगरी, सचिवमा नेपाल प्यानलका चारजनाको अग्रता छ। यही प्यानलका गोकर्ण विष्टले ७ सय ७१ म्तसाथ पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गरेका छन्। विष्टपछि दोस्रो स्थानमा योगेश भट्टराई ६ सय ८७ मत छ। तेस्रो स्थानमा भीम आचार्य ९६ सय ६४ छन्।

त्यसैगरी पर्शुराम मेघी गुरुङ ६ सय ६२ चौथो स्थानमा छन् भने ओली प्यानलका प्रदीप ज्ञवाली ६ सय ४२ मतसाथ पाँचौं स्थानमा छन्। आइतबार ओलीले अग्रता कायम गर्दा ज्ञवाली पहिलो स्थानमा थिए। छैठौं स्थानमा नेपाल प्यानलका वेदुराम भुसालले ६ सय ३० मत ल्याएका छन्।

ओली प्यानलका पृथ्वी सुब्बा गुरुङ ५ सय ८२ मतका साथ सातौं स्थानमा छन् भने विष्णु रिमाल ५ सय ७१ मतका साथ आठौं स्थानमा र रघुवीर महासेठ ५ सय ३२ मतसाथ नवौं र सबैभन्दा पुच्छारमा केशवलाल श्रेष्ठ ५ सय ५ मत छ। खसेको मतमध्ये हालसम्म पदाधिकारीतर्फ १ हजार २ सय ९० मत गणना भएको ओली पक्षका सचिव उम्मेदवार विष्णु रिमालले जानकारी दिए।

एमालेका नेतृत्व छनोटका लागि करिब ६० प्रतिशत मतगणनापछि दुवै पक्ष पदाधिकार जित्ने सम्भावित विजयी उम्मेदवारको लेखाजोखा र प्राप्त मतको समीक्षा सुरु गरेका छन्। नेतृत्व छनोटका लागि शुक्रबार राति भएको मतदानमा २ हजार १ सय ५२ मत खसेको थियो। नागरिक दैनिकबाट