२९ आश्विन २०८३, बिहिबार

चार वर्षदेखि थन्‍क्‍याइएका शव जनकपुर लगिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU Hospitalकाठमाडौं, ३१ असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा चार वर्षदेखि राखिएका पाँचजना द्वन्द्वपीडितका शव साउन पहिलो साता अन्तिम संस्कारका लागि जनकपुर लगिने भएको छ।

द्वन्द्वकालमा सरकार पक्षबाट हत्या गरिएको प्रमाणित भएपछि ती शव अन्तर्राष्ट्रिय संस्थासमेतको सहयोगमा आफन्तको जिम्मा लगाउने निर्णय गरिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आयोगका कामुसचिव वेदप्रसाद भट्टराईले यसमा सहयोगका लागि प्रहरीलाई आग्रह गरिसकिएकाले साउन ७ गते जनकपुर पुर्‍याउने कार्यक्रम तय भएको बताए।

प्रहरी महानिरीक्षक भई अवकाश पाइसकेका कुवेरसिंह रानाको नाम यो हत्या प्रकरणमा जोडिएको छ। यो प्रकरणमा तीन साताअघि मृतकहरूको अन्तिम सनाखत प्रतिवेदन प्रमाणित हुन सकेको हो। फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयले मृतकहरूको हड्डी र उनीहरूका आमाबाबुको रगत जाँच गरी डीएनए रिपोर्ट पठाएको थियो। विदेशबाट प्राप्त परीक्षण प्रतिवेदनलाई नेपालकै विधिविज्ञान प्रयोगशालाबाट पनि प्रमाणित गराएको आयोगका कामु सचिव भट्टराईले बताए।

२०६० असोज २१ गते धनुषा प्रहरीद्वारा पक्राउ गरिएका सञ्जीव कर्ण, दुर्गेश लाल, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवलाई गोली हानेर हत्या गरी धनुषाकै तल्लो गोदार-३ स्थित कमला नदीको किनारमा गाडिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

आयोगले २०६४ माघ १५ मा तत्कालीन एसएसपी चूडाबहादुर श्रेष्ठ, धनुषाका तत्कालीन एसपी कुवेरसिंह राना, नेपाली सेना नौ नम्बर बाहिनी फिल्ड धनुषा धारापानीका मेजर अनुप अधिकारी र तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीरमण काफ्ले हत्यामा संलग्न भएको आरोप लगाउँदै आवश्यक कारबाही गर्न सरकारलाई पत्र लेखेको थियो। यसमा हाल प्रमुख सेनानी रहेका अधिकारीबाहेक अरू सबै अवकाश भइसकेका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट