मानिस समाज र परिवारका लागि मात्रै हैन, आफ्नो लागि पनि बाँचेको हुन्छ । तर, हाम्रो समाजमा महिलालाई आफ्नो पूर्ण अधिकार पाएर बाँँच्नको लागि पुरुषले हैन, महिलाले नै हस्तक्षेप गरिरहेका हुन्छन्। जुन कुराको सुरुवात हुन्छ आमाबाट ।
एउटी सानो फ़ुच्ची जब किशोरावस्थामा प्रबेश गर्छे, तबदेखिनै उसको जीवनमा नीति नियमको सुरुवात हुनथाल्छ कि यो समाजमा एउटा असल नारी भएर कसरी बाँच्ने ? उसलाई आफ्नो लागि हैन, समाजका लागि बाँच्न सिकाइन्छ, जसले गर्दा उसले जीवनमा जस्तोसुकै उतारचढ़ावहरु आएपनि ती नियमहरुलाई पालना गर्नैपर्ने हुन्छ। नत्र उसले नेपाली समाजमा खराब महिलाको दर्जा भिर्नुपर्छ ।
उसको बाल मस्तिष्कमा यस्तो कुराहरु भरिन्छ, जसले गर्दा उसले नेपाली समाजमा आफू पुरुष भन्दा तल्लो स्तरको प्राणी हो भन्ने कुराको महसुस गर्न बाध्य हुन्छे। स्कूल, कलेज सकिनासाथ समयमा घर आइपुग्नैपर्ने, अलकति ढिला गरे आमाबाट हजार प्रश्नहरुको सामना गर्नैपर्ने हुन्छ, उसले।
आज किन ढिला ? डराउँदै उसले भन्छे- ‘आमा आज एक्स्ट्रा क्लास भयो ।’
त्यसमा आमाको जवाफ आउछ – गफ दिन्छेस् फलानी फलानीको संगत छ, तँ नराम्रोसँग बिग्रिने भइस, आजकल सिधा सिधा बोल्न थालेकी छस्….’
बिना कसुर आमाको खप्की सुन्नुपर्दा उसलाई जिन्दगी देखि नै धिक्का लाग्छ । यतिले मात्रै कहा पुग्छ र बेलुका बाउ घरमा आएपछि फेरी आमाले कुरा लाइदिने अनि फेरि सुरु हुन्छ बाउको पुराण।
उफ यो छोरी भएर किन जन्मेको होला, छोरा भएर जन्मेको भए दाईभाई जस्तै आफ्नो खुसीले जतिबेला मन लाग्यो त्यतिबेला घर त आउन पाउँथे… यस्तै यस्तै कुरा मनमा खेल्न थाल्छ । १४-१५ बर्षको उमेर देखिनै छोरी भएर जन्मेकोमा पछुतो लाग्न थाल्छ उसलाई।
जब पढाई सकिन्छ, यसो सुत्नेबेलामा इन्टरनेट त चलाउन मन लगिहाल्छ, हातमा मोबाइल हुन्छ कहिलेकाँही केटी साथीहरुकै फोन पनि आइदिन सक्छ। फेसबुकतिर हाई हेल्लो गर्दा गर्दै रातीको ११-१२ त बजिहाल्छ सुत्दा। बिहान आँखा खुल्न पाएको हुँदैन फेरी सुरु हुन्छ किचकिच ।
के हो तेरो कोठाको बत्ति त रातभरी बलिरहेको थियो त ? खुब हांसी रहेको थिइस, कस्को फोन आएको त्यति राति ?
अब उसलाई सही नसक्नु हुन्छ, दिमाग बिस्फोट होला जस्तो हुन्छ, अनि निस्किन्छ बोली – यति धेरै चासो किन मेरो मात्रै लिनुहुन्छ ? दाई कलेजबाट ढिला आउँदा केहि नहुने, कहिलेकाँही राति साथीकोमा बसेको छु भनेर घरनै नआउँदा केहि नहुने, उसले रातभरी फोनमा, फेसबुकमा केटीहरुलाई गफदिदै बस्दा केहि नहुने, खाली मेरो मात्रै चासो मलाई मात्रै प्रश्न किन ?
जवाफमा आमाले भन्छिन्- ‘किनकी ऊ छोरा हो उसले जे गरे नि हुन्छ तँ छोरी होस!’
छोरी, छोरी, छोरी… हे भगवान मलाई छोरी बनाएर किन जन्माएऊ! उसलाई फेरी छोरी भएर जन्मेकोमा घृणा लाग्छ आफैसंग।
अलि ठूली भएपछि उसका आवश्यकता र चाहनाहरु पनि बढ्दै जान्छन्। साथीहरूले जे लायो आफूलाई पनि त्यस्तै लगाउन मन लाग्ने केटीमान्छेहरुको गुण नै हो। जुन आबश्यकता सधै परिवारले पुर्याउन पनि सक्दैन। आफ्नो पकेट खर्चकै लागि भए पनि उसलाई काम गर्न मन लाग्छ। अर्काकोमा काम गरेपछि कहिलेकाँही धेरै काम भएको बेला २-३ घण्टा बढ़ी नै अफिसमा बस्नुपर्ने हुन्छ। राति घर आयो परिवारको गाली सुन्नुपर्छ- ‘पर्दैन जानु अफिससफिस, तैले काम गरेर परिवार पाल्ने हो ? छोरी मान्छे भएर यति राति घर आउँदा वरिपरि आफन्त र छिमेकीले देखे भने के भन्छन ? अब एउटा केटा खोजेर बिबाह गर्दिन्छु अनि त्यसैले जे सुकै गरोस काम लाए’नि लाओस, घरमा राखे’नि राखोस । हामीलाई त ढुक्क हुन्छ।’
ढोका बन्द गरेर रुने बाहेक एउटा केटी मान्छेसंग अरु के नै उपाय हुन्छ र बिचारासँग।
२१-२२ पुग्दै छोरीलाई पन्छाउनै हतार हुन्छ परिवारलाई। छोरी बिबाहको लागि परिपक्व छ कि छैन, भोलि केही आपतबिपत आइपरे एक्लै बाँच्न सक्षम छ कि छैन, खासै परिवारले चासो दिदैन। उनीहरुको दिमागमा एउटै कुरा खेलिरहन्छ कि यसलाई बिबाह गर्दिन पाए हामी ठूलो जिम्मेवारीबाट पार पाउँछौ।
एउटा केटी बिबाह गर्छे, अर्काको घर जान्छे। नयाँ ठाउँ, नयाँ परिवार, उसको मनमा ठूलो डर लुकेर बसेको हुन्छ। नेपाली समाजमा एउटा केटीलाई बिबाह गरेर गएपछि सबैभन्दा ठूलो डर भनेको फेरी सासु र नन्द आमाजुको हुन्छ। किनकी हाम्रो समाजमा महिलाको शत्रु सँधै महिला नै हुन्छन्, पुरुष हैन, त्यो सुन्दै र बुज्दै आएको कुरा पनि हो ।
आफ्नो आमा जस्तो सासु पाए त ठीकै हो । तर, आफू बुहारीबाटै सासु बनेको हुँ भन्ने कुरा बिर्सेर सासुको अधिकार जमाउने आइमाई परे भने त्यो केटीको जिन्दगी नर्क नै हुन्छ। आफू पनि कसैकी छोरी हुँ र अर्काको घरमा म पनि भाउजु बुहारी जस्तै बिबाह गरेर गएको छु भन्ने बिर्सेर एउटा महिलालाई अर्को महिलाले सधै यो अर्काको छोरी हो यसलाई सधै अर्का नै सोच्नु पर्छ भन्ने सोच भएका नन्द आमाजु परे भने त झन जिन्दगी पारिवारिक तनावमै डुब्छ ।
हाम्रो नेपाली समाजमा एउटी छोरी बिबाह गरेर गएपछि उसले जस्तोसुकै शारीरिक र मानसिक पीडा खप्नु परे पनि सधै त्यही पुरुष र घरपरिवार खुशी पारेरै बस्नुपर्ने बाध्यता छ। हाम्रो समाजमा धेरै त्यस्ता एकल महिलाहरु पनि छन्, जो सानैमा बिबाह गरेर २४-२५ बर्षको खाउँखाउँ र लाउँलाउँ भन्ने कलिलो उमेरमै श्रीमान गुमाएर त्यही श्रीमानको नाममा जिन्दगी बिताउन बाध्य छन् ।
श्रीमानको शारीरिक र मानसिक पीडा खप्न नसकेर उसैबाट जन्मेका साना बालबच्चाहरु हुर्काएर तिनैको आशमा बाँँच्ने धेरै पीडित आइमाईहरु पनि छन। श्रीमान बिदेश गएर २० औ बर्ष उसकै यादमा बिताउने महान नारीहरु पनि छन्, हाम्रो समाजमा। महिलाहरु पीडित भएर बाँच्नुमा पुरुषको भन्दा बढ़ी हात महिलाको नै छ। एउटी महिला खुसी भएको रमाएको देख्दा अर्की महिला जल्ने चलन छ, हाम्रो समाजमा। कुनै पुरुषले एउटी एकल महिलालाई या एउटी बिबाहित जो शारीरिक र मानसिक रुपमा पीडित छ र छोराले मन पराएर बिबाह गर्न चाह्यो भने उसको आमाबाट बिरोधका आवाजहरु निस्किन थाल्छन्। एउटी नारीले अर्को एउटा दुःख पाएको नारीलाई स्वीकार गर्न सक्दिन। बरु खराबै किन नहोस्, रबाफिली बुहारीलाई स्वीकार गर्न सक्छे हाँसीखुसी ।
प्रत्येक नारीलाई खुसी भएर बाँच्ने अधिकार हुन्छ तर हाम्रो समाजले आइमाईलाई जबरजस्ती बाँच्न बाध्य बनाएको छ। श्रीमान बिदेश गएर बर्षौ नफर्फिँदा अर्को पुरुषसँग विहे गरेमा उसलाई गलत आइमाईको संज्ञा दिइन्छ । आफ्नो श्रीमानबाट शारीरिक र मानसिक पीडा खप्न नसकेर अर्को केटासंग बिबाह गरे त्यो आइमाईलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण सँधै घिनलाग्दो हुन्छ। हिन्दु नारीहरु महान हुन्, जो आफू सधै शारीरिक र मानसिक रुपमा पीडित भएर पनि यो समाजको लागि हाँसेर बाँचेका छन्, आखिर कहिलेसम्म ? के उनीहरुको समाजको लागि मात्रै जन्मेका हुन ? उनीहरुको आफ्नो खुसीले बाँच्न पाउने जिन्दगी बिताउन पाउने अधिकार छैन ? आखिर कहिले परिबर्तन हुन्छ हाम्रो नेपाली समाजको महिलालाई हेर्ने दृष्टिकोण ??












प्रतिक्रिया