२८ आश्विन २०८३, बुधबार

एनआरएन: राष्ट्रभक्त साट्ने नेपालीकै ठूलो स्वर ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tsewang-Sherpalama

राम्रो कुरा नक्कल गर्नु नराम्रो हैन । यस अर्थमा एनआरआई अर्थात नन रेजिडेन्ट इन्डियनको नक्कल गरेर हाम्रा प्रवासी अग्रजहरुले एनआरएन (नन् रेजिडेन्ट नेपाली) भन्ने नामले प्रवासी नेपालीहरुको नयाँ परिचय न्वारन गरिदिए । त्यसपछि, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति र एनआरएन राष्ट्रिय समन्वय समिति भन्ने प्रवासी नेपाली सामाजिक संस्था खुले । इन्डियाको नक्कल नै सही, नेपाल र नेपालीहरुको हितको लागि अर्पण गरिएको कुनै पनि सामाजिक संस्था नराम्रो हुने कुरै भएन ।

तर, एनआरएनले समाधान होइन, कतिपय ठाउँमा त गम्भीर समस्या समेत थपिदिनु भने गम्भीर हो । नेपालीहरुको एकता होइन, विग्रह ल्याइदिने माध्यम समेत एनआरएन बनिरहेको छ । जुन तल पढे पर्याप्त छः

१. एनआरएनको नेतृत्व नेपालको नागरिकता त्यागेका, अथवा मुलुकको ऐनले नेपाली नागरिकता खारेज गरिएका, अन्य राष्ट्रसँग नेपालको नागरिकता साटिएका र राष्ट्रभक्त बेचिएका पुँजीबादी प्रवासीहरुले मात्र गरेको छ । यस्तो हुनु भनेको भारत, बर्मा , भुटान र अन्य देशको नागरिक तर नेपाली मुलको मान्छेले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्याधीश पदहरुमा नेतृत्व दिनु बराबर हो ।

२. एनआरएनको जन्म १५–१६ बर्ष पहिले भए तापनि, नेपाल सरकारले संस्थागत अनुमति दिएको एक बर्ष पनि भएको छैन । र, एनआरएनको संग्स्थागत हिसाब किताबको विवरण निगरानी कसले गर्दैछ,, त्यो कसैलाई जानकारी छैन । नेपाल बिकासको लागि एनआरएन लगानी भन्दै प्रवासी नेपालीहरुको खल्तीहरु रित्याएका करोडौको आर्थिक स्रोत र खर्चहरुको बिबरण अपारदर्शी छ ।

३. एनआरएनको नेतृत्व प्रवासी नेपालीहरु (एनआरएन)को स्वतन्त्र सहभागी मतले छानिएका छैनन्, नेपालको सत्ताधारी राजनैतिक पार्टीको साम, प्रवासी पुँजीवादीहरुको दाम, काठमाडौंका सुक्कुले गुण्डाहरुको डन्डा र जातजाति बिभाजन साधुहरुको वेदबाट एनआरएनएका नेतृत्व चयन हुँदै आएको छ ।

४ कमसेकम, भारत र नेपालबीच केही सम्झौता र सन्धिहरु भएका छन् । त्यसैको आधारमा नेपालको नीतिहरु र नेताहरुको रिमोट कन्ट्रोल भारतको कृपामा चलेको छ । एनआरएनएको मुल नेतृत्व र कुनै पनि राष्ट्रको राष्ट्रिय समन्वय समितिबीच कुनै संग्थागत, बैधानिक र कानुनी सम्झौता पत्र छैन । तसर्थ बिभिन्न मुलुकका कानुन बिपरित एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समितिको नेतृत्व र क्रियाकलापहरु अवैधानिक छन् ।

५. नेपालमा नेपाली जनताहरु र राजनैतिक नेताहरुले एनआरएन भनेको टाई–सुट्वाला राष्ट्रभक्त बेचिएका, कुरा बढी– काम न दामका, पाँच तारे होटेलमा दशैं मनाउन फर्केका एक हप्ते नव पुँजीबादीहरुको गाइजात्रे संस्था भन्छन् ।

६. एनआरएनले नेपालमा देशविकास गरेको तस्स्वीरहरु भन्दा यो संस्थामा नेतृत्व हाँक्नेहरुले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र राजनैतिक नेताहरुसंग कुम जोडेर खिचेको फोटोहरुको चाङमात्र देख्न पाइन्छ ।

७. अमेरिकामा अहिले नेपालको नागरिकता त्यागेका अथवा खारेज भई दोहोरो नागरिकताको अवाश्यकता भएका अमेरिकी पासपोर्ट होल्ड गरि बसेका नेपाली मुलका मान्छेहरुको संख्या मात्र १८ हजार छ । अन्य २ लाख अमेरिकाबासी नेपालीको ग्रीनकार्ड छ वा प्रक्रियामा छन्, उनीहरुलाई किन चाहियो दोहोरो नागरिकता ? नेपालले नेपाली नागरिकता नत्यागेका, नागरिकता खारेज नभएका देशभक्त प्रवासी नेपालीहरु सबैलाई नेपालमा आम नेपालीले पाउने सहुलियत र अधिकार त बराबरी दिएकै छ नि ।

८. एनआरएनए हाँक्ने नेतृत्व यस्तो हुनुप¥यो, जसले मुलुकले मागेको आवश्यकताहरु दिन सकोस । जस्तैः खोलामा पुल, गाउँमा पाठशाला, राजधानीमा फोहरमैला सफा–कार्यक्रम, अस्पतालमा एम्बुलेन्स, बृद्धाश्रममा नर्स, अशिक्षितलाई शिक्षाको अवसर, अनाथ र सुकुम्बासीहरुलाई टाउको छोप्ने छाप्रो र मातृभूमिको माटोलाई आफ्नो शिर आदि–इत्यादी । मुलुकले मागेको यस्ता कार्यक्रमहरु संचालन गर्न नेपाली नागरिकता त्यागेका अथवा नेपालको नागरिकता खारेज भएका, राष्ट्रभक्त साट्ने प्रवासी डलरमालिकहरुको मात्र नेतृत्व जरुरत छैन र हुँदैन । हरेक देशभक्त, नेपाली नागरिकता नत्यागेका अथवा नेपालको नागरिकता खारेज नभएका, सर्बसाधरण प्रवासी नेपालीहरुले हरेक राष्ट्रबाट प्रतिव्यक्ति महिनाको १ डलरमात्रै मातृभूमिलाई दिनुहोस्, मुलुकले दोहोरो नागरिकता मात्र होइन ‘देशै दिनेछ’ र नत्र मुलुकले किन दिने ‘दोहोरो नागरिकता’ ? राष्ट्रभक्त साट्नेहरुलाई र काठमाडौंको पाँच तारे होटेलमा दशैं मनाउन नेपालले कसलाई रोकेको छ र ?

लेखक एशोशियसन अफ नेपाली इन अमेरिकाज्-एएनएका अध्यक्ष हुन् ।