२९ आश्विन २०८३, बिहिबार

जंगलदेखि सरकारी जागिरसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rauteसुर्खेत, २९ असार । ‘तिमी राउटे बन्न तयार हुन्छौ भने हामी पनि तिमीजस्तै रैती बन्न तयार छौं।’ करिब एक दशकअघि सुर्खेतका तत्कालीन प्रमुख जिल्ला अधिकारीले ‘खेतीपाती गरेर बस्ने भए जग्गाजमिन दिन्छौं’ भन्दा त्यतिबेलाका राउटे मुखिया मानबहादुर शाहीले यस्तो जवाफ फर्काएका थिए।

मानबहादुरका स्पष्ट तीन मान्यता थिए– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने।

मानबहादुर अहिले जीवित छैनन्। समयले पनि राउटेलाई ‘रैती’ बन्ने मार्गमा डोर्‍याएको छ।

पर्यावरणीय प्रभावले आहारमा कमी हुनु, बाह्य समाजसँग घुलमिल बढ्नु र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यताको एक अवशेष राउटे समुदाय परिवर्तनको संघारमा पुगेको छ। उनीहरू बाध्यताले आफ्नो प्राचीन मान्यता र परम्पराबाट पछि हटिरहेका छन्।

गत फागुनमा सुर्खेत जिल्ला वन कार्यालयले राउटे समुदायका चारजनालाई वन हेरालु तथा डढेलो नियन्त्रकको जागिर दियो। वन अधिकृत शम्भुप्रसाद चौरसियाले उनीहरूलाई नियुक्तिपत्र थमाउन कम्ती मेहनत गर्नुपरेन।

‘वनमा बस्ने समुदायलाई यस्तो जिम्मेवारी दिँदा प्रभावकारी हुन्छ भनेर हामीले प्रक्रिया अगाडि बढाएका थियौं,’ चौरसिया भन्छन्, ‘तर, जागिर नखाने परम्परा बोकेका उनीहरूलाई ‘कन्भिन्स’ गर्न निकै गाह्रो भयो।’

राउटे संस्कृति र सम्पदा सम्मान गर्दै जीवनयापन सहज बनाउने विश्वास दिलाएपछि मात्र उनीहरूले कामको जिम्मेवारी लिएको चौरसिया बताउँछन्।

यस संवाददाताले समाचार संकलन क्रममा पहिलोपल्ट करिब १२ वर्षअघि राउटे समुदायलाई भेटेको थियो। त्यतिबेला उनीहरूको समुदायमा फोटो खिच्नु त के, कसैसँग बोल्नसमेत बन्देज थियो। कुरा गर्न खोज्यो कि तर्किहाल्थे। बाह्य दुनियाँसँग बोल्ने एकमात्र अख्तियारी मुखिया मानबहादुरसँग थियो। उनी भन्थे, ‘मेरा जनता जोकोहीसँग बोल्दैनन्, के कुरा हो मैसँग सोध।’ नागरिक दैनिकबाट