काठमाडौं , २८ असार । तिब्बती बुद्ध धर्म र अभ्यासमा दलाई लामा पछि हाराहारीमा आउने १४ औं समरपाको चाहनाअनुसार नेपालमा अन्त्येष्टि गर्ने तयारी भइरहँदा सरकारले त्यसका लागि अनुमति दिन अस्विकार गरेको छ।
आफ्ना हजारौं नेपाली शिष्य र अनुयायीबीच आफैंले नागर्जुनमा स्थापित गरेको सर्मिनाभ गुम्वामा अन्त्येष्टि होस भनी चाहना राखेका समर रिम्पोचेको गत जेठ २८ गते जर्मनीमा हृदयघातका कारण निधन भएको थियो।
नेपाल सरकारले मुलुकबाहिर मृत्यु भएका विदेशीको अन्त्येष्टिका लागि शव नेपाल ल्याउन दिने प्रचलन नभएको आधारमा अन्तिम समयमा आइतबार निर्धारित अन्त्येष्टिमा रोक लगाएको आधिकारीका सूत्रले अन्नपूर्णलाई बताएको छ। बुद्धमार्गीहरू समरपालाई अमिताभ बुद्धको रुपमा श्रद्धा गर्दछन। उनको निधनमा शोक व्यक्त गर्दै १४ औं कर्मपाले भने, ुसमरपाले देहत्याग गरे पनि हामी सबैबीच गुरूका रुपमा सधै रहिरहने छन्।ु
६१ बर्षअघि हेलम्बुमा जन्मिएका समरपाले भारत, नेपाल र भुटानलाई आफ्नो कर्म र धर्म थलो बनाउँदै आएका थिए । र उनले भुटानी राहदानीको प्रयोग गर्दै आएका थिए।
पवित्र शव कुडुङ हाल समरपाले स्थापना गरेको कालिङपुङस्थित गुम्वामा राखिएको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार कुडुङलाई त्यहाँबाट थिम्पुमा भुटानी राजपरिवार तथा अन्य श्रद्धालुहरूको दर्शनाका लागि लगि हेलिकोप्टरबाट सिधै नागर्जुन ल्याउने तयारी थियो । ‘हाम्रो मन दुखेको छ, हामी अझै पनि आशावादी छौं, नेपाल सरकारले लाखौ बुद्धमार्गीको भावना, परम्परा र आस्थाको कदर गर्दै समरपाको चाहनाअनुसार नेपालमा अन्त्येष्टिका लागि अनुमति दिने छ’, दिवंगत अवतारी लामाका एक सहयोगीले भने। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया