काठमाडौ, २८ असार । मुद्दा कमजोर बनाउन घूस मागेको अभियोगमा अख्तियारले एक सरकारी वकिलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
चोरीमा संलग्न नै नभएको व्यक्तिलाई प्रतिवादी बनाएर घूस मागेको अभियोगमा पक्राउ परेका काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता रामबहादुर थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
मोबाइल चोरीको अभियोगमा पक्राउ परेका एक व्यक्तिको मुद्दा कमजोर बनाइदिने प्रलोभनमा थापाले २५ हजार रुपैयाँ घूस मागेको अख्तियारको दाबी छ । उनीसँगको मिलेमतोमा नासु केदारप्रसाद अर्यालले २५ हजार रुपैयाँ बुझ्नासाथ अख्तियारको टोलीले सरकारी वकिलको कार्यालयबाट उनलाई रंगेहात पक्राउ गरेको थियो ।
‘सुरुमा ५० हजार रुपैयाँ मागेका रहेछन्, मोलमोलाई हुँदा २५ हजार रुपैयाँमा लेनदेन भएको देखिन्छ,’ अख्तियार स्रोतले भन्यो । उनका अनुसार थापाले प्रत्यक्ष रकम नबुझेपछि मोलमोलाई गरी अर्याललाई रकम उपलब्ध गराउन भनेको दृश्य रेकर्ड भएको छ ।
चोरीको अभियोगमा प्रतिवादी बनाइएका व्यक्ति भने सामान्य तारेखमा छुटेका छन् । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया