२८ आश्विन २०८३, बुधबार

अनुभूतिहरूका समीकरण: अविश्वासको तरंग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divorce-love-buda-budi

शब्द विचारको आवाज हो, यथार्थ आवाज उन्नयोन्मुख समाज हो । समाज शब्दको उर्वरभूमि हो । शब्द भानुभक्तको प्रिय राम हो, प्रियको आँसु मोतीराम हो, प्रकृतिको पुजारी लेखनाथ हो, चराको संसार लक्ष्मीप्रसाद हो, अनि आमाको सपना गोपालप्रसाद हो । शब्दले जुनसुकै परिवेश र समयको सुदूर भविष्य देख्दछ र यो जहिले पनि आवश्यकतामा आफैँ बोल्दछ । बस् शब्दलाई अमूर्त हुन दिनुहुँदैन । नवोदित कथाकार कृष्णकला वनेमले आफ्नो कथा–किताब ‘अविश्वासको तरङ्ग’मा त्यही शब्दलाई मूर्तरुप दिने स्तुत्य प्रयास गरेकी छिन् ।

मृतसागरको सुदूर पूर्वी देश ‘इजरायल’मा सन् २००८ सेप्टेम्बर ८ तारिकका दिन रोजगारीका सिलसिलामा पुगेकी वनेमले त्यसबेलादेखि हालसम्मको कालअवधिमा देश र विदेशका घटनाक्रम र अनुभूतिलाई आफ्ना कथाहरूमा उतारेकी छिन् । उनका अधिकांश कथाहरू अलग–अलग विषय र पृष्ठभूमिका छन् तथापि तिनका भावभङ्गीमाले भने एकैरुप लिएका छन् । जसमा नारी हृदयका कोमलता, भावुकता एवम् अनुभूतिहरूका समीकरण छन् । पात्रहरू पनि फरक–फरक परिवेश र भूगोलका देखिएका छन् ।

कथाकार वनेमको कथासङ्ग्रह ‘अविश्वासको तरङ्ग’भित्रको प्रमुख विशेषताचाहिँ यसले ओगटेको बेग्लाबेग्लै भौगोलिक क्षेत्र, समाज र कार्यस्तर तथा प्रकार हो । अनि तेस्रो विश्वको कठिन हुँदै गइरहेको मध्यमवर्गीय जीवनको स्थिति, लोकलाज र इज्जज प्रतिष्ठालाई ध्यानमा राखेर धैर्यपूर्वक जीवन सङ्घर्षमा होमिएका नारीहरूको बेथितिलाई पनि वनेमले कथामा उजागर गरिदिएकी छिन् ।

प्रस्तुत सङ्ग्रहमा ‘लालच’, ‘साइबर प्रेम’ ‘सत्यको जीत’, ‘कर्तव्य’सहित नौवटा कथाहरू सङ्ग्रहित छन् । कथाहरू पढ्दा पाठकलाई संस्मरणात्मक, आत्मकथात्मक वा निवन्धात्मक पनि लाग्न सक्छन् । जीवनका विविध सन्दर्भका क्षेत्र, भाषा र पात्रहरूका रङरुप तथा रसको समवेत रुपलाई नै कथाकार वनेमले कथाहरूमा प्रस्तुत गरेकी छिन् । कथा सिद्धान्तको कसीमा वा संरचनाको आधारविन्दुमा यस सङ्ग्रहलाई राखेर परम्परागत ढङ्गले मूल्याङ्कन गर्नु त्यति उचित नदेखिएला । किनभने, कथा सर्जकको हैसियतले वनेमले कथाप्रति देखाएको झुकाव र प्रेम भने उल्लेखनीय छ । कथा स्रष्टाको भित्री सम्भावनाको परिचय दिने उनको प्रयास स्वागतयोग्य छ ।

कथाहरूमा ‘कथ्य’लाई वनेमले अनुभव र अनुभूतिको इँटाले यथार्थ ढङ्गले निर्माण गरेकी छिन् । जस्तो कथा ‘लालच’ । यो एउटा इमान्दार जागिरेको कथा हो । जसमा एकातिर पूर्ण समर्पण, निष्ठा र आदर्शको सङ्गम छ भने अर्काेतिर स्वार्थ र आत्माहीनताको पराकाष्ट छ । कथाकार वनेमले अन्य कथामा झँै यस कथामा पनि प्रेमको पूर्णरुप उपलब्ध गराएकी छिन् । बाध्यतावश बसाइँ सर्दाको पीडा र त्यसले वरपरका संवेदनशील मनहरूमा पारेको गहिरो प्रभाव कथामा मुख्य रुपमा व्यक्त भएको छ । त्यस्तै वास्तविक घटनामा आधारित भनिएको अर्काे कथा ‘साइबर प्रेम’मा पनि व्यक्त प्रेमिल तरङ्गले पाठकलाई उद्देलित गर्छ । कथाको माध्यमबाट व्यक्त भएको आधुनिक समयको प्रेमको दर्शन उनका कथामा पाठकले पाउन सक्छन् । त्यस्तै शीर्षक कथा ‘अविश्वासको तरङ्’मा एउटी सङ्घर्षशील युवती जो पराइभूमि इजरायलमा रोजगारीका लागि पुगेकी छे । जसको आत्मपीडालाई कथाले बयान गरेको छ । प्रेम र विश्वासमा आएको दरारले त्यस युवतीको जीवनमा लिएर आएको खल्लोपना र उदासी कथाभरि भेटिन्छ ।

प्रेम र सङ्घर्ष, आर्थिक विडम्बना र त्यसबाट सिर्जित परिस्थितिजन्य बिसङ्गति सङ्ग्रहका प्राय: कथाहरूमा जोडिएर आएका छन् । कतिपय कथामा अतिशय भावुकता पनि भेटिन्छन् । यद्यपि ती पनि यथार्थक नजिकका लाग्छन् । प्रेममा धोका पाएका, नियतिले ठगिएका र सङ्घर्षमा जीवन खोजिरहेकाहरूप्रति लेखिका वनेमले निकै सहानुभूति देखाएकी छिन् । सकेसम्म सामाजिक बास्तविकताको एउटा अविछिन्न पाटोलाई कथाहरूमा कथाकार वनेमले पछ्याइरहेकी भेटिन्छ । कथाका भाषा सजीव र प्रवाहमय नै छ । साथै सरल पनि । भाषाको कसावट भने खुकुल्लो छ । कुनै कथा अवान्छित विस्तार भएका र कुनै छिट्टै टुङ्गिएजस्तो पनि लाग्ने खालका छन् । लेखिका वनेमले आफ्ना भावनाहरूलाई आकार दिन खोज्दा निर्माण भएका यी कथाहरू समालोचनात्मक दृष्टिले भन्दा पनि भावनात्मक दृष्टिले सुदृढ र परिपक्व देखिएका छन् । लेखिका गीतकार पनि भएकोले होला उनका कथाहरूका भाषा काव्यिक छन् । लयात्मक छन् । सङ्ग्रहका अन्य कथाहरू ‘सत्यको जीत’, ‘चोखोप्रेमको अनन्त पीडा’, ‘प्यारी सङ्गीनीको अन्तिम जीवन यात्रा’, र ‘सर्मपण’ कथा पृष्ठभूमि र विषयवस्तुका कारणले पनि पठनीय छ । पहिलो सङ्ग्रहले नै उनको लेखन भविष्य सफल र सार्थक हुने सङ्केत दिएको छ ।