गौशाला, २२ असार । नेपाल टेलिकम महोत्तरी शाखाको सेवामा पछिल्लो दिनमा आएको समस्याले सेवाग्राही मारमा परेका छन् ।
कार्यालयबाट वितरण गरिएका टेलिफोन लाइन दैनिकरुपमा बिग्रिने गरेको छ भने त्यसबारे सेवाग्राहीले गुनासो गर्दा कर्मचारीहरूले बेवास्ता गर्ने गरेको सेवाग्राहीले बताएका छन् ।
त्यसैगरी, सो कार्यालयबाट वितरण गरिएको इन्टरनेट सेवा एडिएसएलको लाइन पनि दैनिक रुपमा ४÷५ पटक र कुनै दिन दिनभरि बिग्रिरहने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । यसबारे टेलिकम कार्यालयमा फोन गर्दा माथिबाट बिग्रिएको भन्ने जवाफ पाउने गरिएको उपभोक्ता शिवचन्द्र चौधरीले बताए ।
कार्यालयबाट वितरण गरिएको टेलिफोन र इन्टरनेटको लाइन मर्मत गर्न कर्मचारीहरुलाई अनुरोध गर्दा बार्गेनिङ गरेर यति पैसा लिन्छु अनिमात्रै आउँछु भनेर कर्मचारीहरूले सर्वसाधारणलाई हैरानसमेत पार्ने गरेको गुनासो उपभोक्ता श्रवणकुमार साहले बताए ।
केही उपभोक्ताले त्यस कार्यालयका कर्मचारी जानीजानी हाम्रो लाइन बिगार्ने गरेको र जतिपटक लाइन मर्मतका लागि आउँछ सेवा शुल्क लिने गरेको र सेवा शुल्ककै लागि पनि कर्मचारीहरूले पटकपटक लाइन बिगार्ने गरेको गुनासोसमेत गरेका छन् ।
त्यस्तै टेलिकम महोत्तरीबाट टेलिफोन वा इन्टरनेट सेवा लिएका वा लिन चाहने ग्राहकलाई त्यहाँका कर्मचारीले टेलिकम कार्यालयभित्रैबाट आवश्यक सरसामान खरिद गर्न कर लगाउने गरेको र त्यहाँबाट सरसामान खरिद नगरेमा टेलिफोन सेवा अवरुद्ध भएको समयमा मर्मत गर्न नआउने धम्कीसमेत दिने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।















प्रतिक्रिया