काठमाडौं, २२ असार । मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई पार्टीको आदर्श स्विकार्दै नेकपा (एमाले) ले विधानबाटै ‘साम्यवाद’ हटाउने भएको छ।
राजधानीमा तीन दिनदेखि जारी नवौं महाधिवेशनको बन्दसत्रमा शनिबार सचिव युवराज ज्ञवालीले पेस गरेको विधान संशोधन प्रस्तावमा प्रस्तावना नै परिर्वतन गरी ‘साम्यवाद’ शब्द हटाउने उल्लेख छ।
विधान संशोधन प्रस्तावमा ‘जनताको बहुदलीय जनवाद–जबज’ नेपालको विशिष्ट परिस्थितिमा मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग भएको निष्कर्ष छ। जनक्रान्ति पूरा भइसकेकाले मुलुक पुँजीवादी चरणमा प्रवेश गरेको पनि प्रस्तावको ठहर छ।
विधिको शासन, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, जनप्रतिनिधिद्वारा शासन प्रणाली सञ्चालनमा जोड दिँदै एमालेले लोकतन्त्रको विश्वव्यापी मान्यतामा संशोधन प्रस्तावमार्फत प्रतिबद्धता दोहोर्याडएको छ। दिगो शान्ति र आमूल परिवर्तनको मार्गमा दृढता जनाउँदै प्रस्तावमा समाजको प्रगतिशील रुपान्तरणका लागि शान्तिपूर्ण बाटो एवं लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास जनाइएको छ।
पार्टीमा रहेका दुई प्रकारका सदस्यता हटाउँदै एकैखाले बनाउने प्रस्ताव पनि महाधिवेशनमा पेस गरिएको छ। संगठित सदस्यसम्बन्धी व्यवस्था हटाउँदै त्यसको ठाउँमा सदस्य मात्र राख्ने प्रस्ताव गरेको छ। पार्टीको सदस्यता प्राप्त गर्न एक वर्षको परीक्षणकाल रहने व्यवस्था पनि प्रस्तावमा छ। यसअघि एमालेमा पार्टी सदस्यता र संगठित सदस्यता गरी दुई प्रकारका सदस्य रहने व्यवस्था थियो।
पार्टीलाई लोकतान्त्रिक पद्धतिमा अझ फराकिलो बनाउने जनाउँदै एमालेले पदाधिकारी संख्या बढाउने प्रस्ताव पनि पेस गरेको छ। संशोधन प्रस्तावमा अध्यक्ष, एकजना वरिष्ठ नेता, पाँच उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र पाँच सचिव राख्ने प्रस्ताव पेस गरिएको छ। नागरिक दैनिकबाट













प्रतिक्रिया