काठमाडौँ, २१ असार । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफूले पार्टीको नेतृत्वमा ४० प्रतिशत हिस्सा माग नगरेको स्पष्ट पार्दै महाधिवेशन नै सर्वाेच्च निकाय भएकाले त्यसले गर्ने निर्णय आफूलाई मान्य हुने बताउनु भएको छ ।
नेता केपी शर्मा ओलीको समूहमा आफूनिकट किरण गुरुङलाई महासचिवसहित भागबन्डा खोजेको भनी कतिपय सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
कार्यबाहक प्रधानमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले शनिवार जारी गरेको एक प्रेस विज्ञप्तिमा महाधिवेशनको बन्दसत्रलाई प्रभावित पार्ने, नेतालाई विभिन्न तवरले लाञ्छना लगाउने र राजनीतिक चरित्रमाथि प्रश्न खडा गराउने जस्ता कार्य तत्काल बन्द गर्नुपर्ने उपाध्यक्ष गौतमको धारणा रहेको उल्लेख गरिएको छ ।
उपाध्यक्ष गौतमले पार्टीको भावी नेतृत्वको मूल सर्त नेतृत्व हस्तान्तरण गर्नु रहेकाले त्यसका लागि ओलीले अध्यक्ष पदमा गर्नुभएको दाबी मनासिव रहेको भन्दै आगामी नेतृत्वलाई लिएर कुनै किसिमको भागबन्डा र माग दाबीको क्रम नचलेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।
गौतमका तर्फबाट जारी विज्ञप्तिमा जनवादमा आधारित संगठन प्रणाली भएको देशकै नेतृत्वदायी एउटा कम्युनिष्ट पार्टीको महाधिवेशन चलिरहँदा भागबण्डाका समाचार आउनु महाधिवेशनमा सहभागी आमप्रतिनिधि कमरेडहरुको अपमान भएको समेत उल्लेख छ ।














प्रतिक्रिया