२९ आश्विन २०८३, बिहिबार

सडक बनेको दशकसम्म पुल बनेनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung Sadakबागलुङ, २१ असार । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–बुर्तिवाङ सडक बनेको दशक बित्दा पनि उक्त खण्डमा पर्ने पुलहरू अझै निर्माण हुन सकेका छैनन् ।

विसं २०५२ मा एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण सुरु भएको सडक विसं २०६२ मा बुर्तिवाङ पुगेको थियो ।

करिब ९५ किलोमिटरको लामो उक्त सडकखण्डमा पर्ने छवटा पुलमध्ये दुईवटा पुल बनेपनि बाँकी चारवटा पुल नबन्दा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ ।

बागलुङका ४१ गाविस र छिमेकी जिल्लाका बासिन्दासमेत लाभान्वित हुने यो सडक विसं २०६७ देखि मध्यपहाडी लोकमार्गमा सडक स्तरोन्नतिले केही गति लिएपछि पुल निर्माणको काममा भने ढिलाइ भइरहेको छ ।

विसं २०५१ देखि २०६२ सम्म एसियाली विकास बैंकको ऋण सहयोगमा ग्रामीण पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिब डेढ अर्ब, ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) अन्तर्गत विसं २०६३ देखि ०६८ सम्म करिब ४५ करोड, विसं २०६७ देखि २०७० सम्म मध्यपहाडी लोकमार्गको करिब रु एक अर्ब खर्च हुँदा पनि पुल निर्माणको काम पूरा हुन सकेको छैन ।

सडक बनेको वर्षौसम्म पनि पुल नबन्दा बाह्रैमास यातायात सुचारु हुन सकेका छैनन् । पुल नबन्दा वर्षायाममा करिब तीन महिना यस खण्डको यातायात प्रभावित हुने गरेको छ ।