२९ आश्विन २०८३, बिहिबार

तनावबीच एमाले महामेला सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlकाठमाडौं, २० असार । भव्य साजसज्जा, उच्चप्रविधि संयोजन, कार्यकर्ताकै तोडफोड र तनावबीच नेकपा (एमाले) को नवौं महाधिवेशन राजधानीमा बिहीबार सुरु भएको छ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा निर्माण गरिएको उद्घाटनसत्र हल प्रवेश गर्न नपाएको झोंकमा कार्यकर्ताले महाधिवेशन सुरु नहुँदै मूल प्रवेशद्वारसहित समारोह परिसरका दर्जनौं स्वागतद्वार च्यातचुत पारेर जलाइदिएका छन्।

एमालेले उद्‍घाटनसत्रमा सभाहलभित्र अतिथि र महाधिवेशन प्रतिनिधिलाई मात्र प्रवेश दिने, कार्यकर्ता तथा शुभेच्छुकलाई नजिकैको राष्ट्रिय सभागृहमा ठूलो पर्दा राखेर उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको थियो।

सोहीअनुसार सुरक्षाकर्मीले कार्यकर्ता र शुभेच्छकलाई सभागृहभित्र एकत्रित गराएको थियो। प्राविधिक कारणले उक्त योजना विफल भएपछि भित्र छिर्न नपाएको र उद्घाटन हेर्न नपाएको झोंक फेर्दै सयौं कार्यकर्ता तोडफोडमा उत्रिएका थिए।

उद्घाटनसत्र बन्दकोठाभित्र गरेको र हेर्न नदिएको भन्दै उनीहरूले पर्यटनबोर्डदेखि वाल्मीकि क्याम्पस, ब्लडबैंक र टुकुचा पुलसम्मका सबै स्वागतद्वार भत्काएर आगजनी गरेका थिए।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। आक्रोशित कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो। विध्वंसमा उत्रिएका कार्यकर्तालाई प्रहरीले भद्रकाली र पुरानो बसपार्कसम्म खेदेका थिए। झडपमा केही कार्यकर्ता र आठ प्रहरी घाइते भएका छन्।

आक्रोशित कार्यकर्ताले आफ्नै नेताहरू गृहमन्त्री वामदेव गौतम र व्यवस्थापन समितिका संयोजक तथा महासचिव ईश्वर पोखरेलविरुद्ध दिनभर प्रदर्शनीमार्गमा नाराबाजी गरेका थिए।

उनीहरूले प्रहरी लगाएर कार्यकर्ता कुटाएको भन्दै गृहमन्त्री गौतम र उद्घाटनसत्र हेर्ने व्यवस्था नमिलाएको भन्दै महासचिव पोखरेलविरुद्ध चर्का नारा लगाएका थिए।

यता, उच्च प्रविधियुक्त महाधिवेशनका सहभागी प्रतिनिधिलाई डिजिटल पास व्यवस्था गरिए पनि पास नपाएका कतिपय केन्द्रीय नेताहरू नै निकै बेर तनावमा रहे।

उनीहरूलाई स्वयंसेवकले भित्र छिर्न दिएनन्। ऊर्जामन्त्री राधा ज्ञवालीसहित दर्जनौं केन्द्रीय सदस्यले केही बेर प्रवेश नपाएर बाहिरै बस्नुपरेको थियो। पूरै परिचय दिएपछि मात्र उनीहरू भित्र छिर्न पाएका थिए।

कार्यक्रम सञ्चालक तथा महासचिव पोखरेलले यो थाहा पाएपछि ‘जस–जसले प्रतिनिधि पास पाउनुभएको छैन, भोलि (शुक्रबार) बल्खु गएर लिन सक्नुहुनेछु भनी उद्घाटन हलमै जानकारी गराएका थिए।

दिउँसो १ बजे सुरु हुने भनिएको उद्घाटन समारोह १ घन्टा ढिलो सुरु भएको थियोे। सबै नेता मञ्चमा उपस्थित भए पनि संसदीय दलका नेता केपी शर्मा ओली पौने दुई बजे मात्र सभाहल प्रवेश गरेकाले उद्घाटन ढिलो भएको हो। अतिथि र सहभागीलाई रोबोटबाट पुष्पवृष्टि गराइएको थियो भने उद्घाटन पनि रोबोटले पानसमा बत्ती बालेर गरेको थियो।

पोखरेलले आसनग्रहण गराउँदा मर्यादाक्रम ख्याल नगरेकाले पनि केहीबेर अन्योल छायो। वरिष्ठ नेता माधवकुमार नेपालले मर्यादाक्रम अनुसार आसनग्रहण गराउन उद्घोषकलाई पटक–पटक ध्यानाकर्षण गराएका थिए। पोखरेल भने पटक–पटक मर्यादा लत्याउँथे। नागरिक दैनिकबाट