काठमाडौँ, १९ असार । संसद् विकास कोषको रकम बढाएर रु पाँच करोड पु¥याउनुपर्ने सभासद्हरुको मागप्रति सरकार सकारात्मक देखिएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभासद्हरुले सो कोषको रकम रु १० लाखबाट बढाएर रु पाँच करोड पु¥याउनुपर्ने माग राखेकामा त्यसप्रति सरकार सकारात्मक हुँदै आर्थिक क्षमताले भ्याएसम्म वृद्धि गरिने काँग्रेस केन्द्रीय सदस्य एवम् सिँचाइ मन्त्री नारायणप्रसाद साउदले बताउनुभयो ।
बैठकमा सभासद्हरुले २४० निर्वाचन क्षेत्रमा सन्तुलित तवरले बजेट पु¥याउन एवम् स्थानीय निकायले सिफारिश गरेका योजना र कार्यक्रमको प्राथमिकीकरण गरी विकास निर्माणलाई प्रभावकारी बनाउन पनि संसद् विकास कोषको रकम बढाउनुपर्ने माग गर्नुभएको मन्त्री साउदले जानकारी गराउनुभयो ।
विगत चार दिनदेखि बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले सरकारका गतिविधि र नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिनुका साथै बजेटमा आफ्ना क्षेत्रका समस्या सम्बोधन गर्न माग गरेका थिए ।
बैठकमा सभासद्ले पहुँचका आधारमा नभई सन्तुलित रुपमा सरकारका कार्यक्रम र बजेटको बाँडफाँड हुनुपर्ने माग गर्दै हरेक क्षेत्रका जनताले विकासको प्रत्याभूति गर्न पाउने गरी बजेट ल्याउन सरकारसँग माग गरेको मन्त्री साउदले बताउनुभयो ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको उक्त बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले बोल्न बाँकी रहेकाले बैठक भोलि पनि राखिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
















प्रतिक्रिया