२९ आश्विन २०८३, बिहिबार

सर्वोच्चले थुनुवा छाड्यो, पुनरावेदनले मानेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanoonकाठमाडौं, १९ असार । एउटै अभियोगमा बराबर बिगो र कैदसजाय माग गर्दै थुनामा राखिएका दुई अभियुक्तलाई दुई तहका अदालतले फरक–फरक फैसला सुनाएका छन्।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको २ अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालत र पुनरावेदन अदालतबाट फरक–फरक आदेश आएको हो।

अन्तिम न्यायिक निकाय सर्वोच्चले उक्त मुद्दामा अभियुक्त योगेन्द्रप्रसाद श्रेष्ठलाई गत साता नै साधारण तारेखमा रिहा गरिसकेको छ। सोही मुद्दामा थुनामा रहेका अर्का अभियुक्त सिद्धार्थमान मास्केलाई भने सर्वोच्चभन्दा तल्लो न्यायिक निकाय पुनरावेदन अदालत, पाटनले बुधबार थुनामै बसेर मुद्दा खेप्नुपर्ने आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको संयुक्त इजलासले असार १२ गते सेयर मार्केट्स एन्ड फाइनान्समा आर्थिक नोक्सान पुर्यााउन मुख्य भूमिका निर्वाह गरेको भनी थुनामा रहेका कम्पनीका अध्यक्ष श्रेष्ठलाई एक वर्षभित्र फैसला नभएको आधारमा रिहा गर्न आदेश दिएको थियो। यो आदेश हुँदा सोही मुद्दा पुनरावेदनमा विचाराधीन थियो।

सर्वोच्चको आदेशलाई नजिर मान्दै मास्केले असार १५ गते पुनरावेदनमा निवेदन दिएका थिए। सर्वोच्चको फैसला आफ्नो हकमा पनि लागू गराइपाउँक भन्ने उनको मागदाबी थियो। सोही निवेदनको सुनुवाइ गर्दै पुनरावेदनको वाणिज्य इजलासका न्यायाधीशद्वय शिवराज अधिकारी र हरिप्रसाद बगालेले बुधबार मास्केलाई साधारण तारेखमा रिहा गर्न नसकिने फरक राय दिएका हुन्।

अदालती बन्दोबस्तको १२३ नम्बरमा पाँच वर्षसम्म कैद हुने मुद्दा एक वर्षभित्र फैसला नभएको आधार देखाएर सर्वोच्चले यसको गलत व्याख्या गरेको भन्दै पुनरावेदनले मास्केलाई साधारण तारेख वा धरौटीमा रिहा गर्नु नपर्ने ठहर गरेको छ।

त्यस्तै, यो व्यवस्था पाँच वर्षभन्दा कम कैद हुने मुद्दामा मात्र आकर्षित हुने पुनरावेदनको आदेशमा उल्लेख छ। नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको मुद्दा बैंकिङ कसुरअन्तर्गत दायर भएको हो, जसमा पाँच वर्ष वा त्यसभन्दा बढी कैदसजाय हुने प्रावधान छ। नागरिक दैनिकबाट