सुर्खेत, १९ असार । अपेक्षा देवकोटाका बुबाको वीरेन्द्रनगरमा बोर्डिङ स्कुल छ। उनले नर्सरीदेखि आठ कक्षासम्म बोर्डिङमै पढिन्। माध्यमिक तहको शिक्षाका लागि भने चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा भर्ना भएकी छन्।
सम्पन्न परिवारकी अपेक्षाले आर्थिक कारणले सामुदायिक विद्यालय रोजेकी होइनन्। सामुदायिक विद्यालयबाट एसएलसी गर्दा भविष्यमा पाइने सरकारी सुविधा र सहुलियतले उनलाई आकर्षित गरेको हो।
‘सरकारीमा पढेपछि धेरै कुरामा मान्यता पाइन्छ भन्ने सुनेकी छु,’ श्रीकृष्ण संस्कृत तथा साधारण उच्चमाविमा अध्ययनरत उनले भनिन्, ‘फेरि यो स्कुलको पढाइ र वातावरण बोर्डिङभन्दा राम्रो छ।’
आठ कक्षासम्म वीरेन्द्रनगरको एक निजी विद्यालयमा पढेका कालिकोटका जनक शाही पनि बाँकी शिक्षाका लागि गृहजिल्ला फर्किएका छन्। सशस्त्र द्वन्द्व बेला राम्रो शिक्षाको खोजीमा परिवारसँगै सुर्खेत झरेका उनले अहिले त्यहीँको सामुदायिक विद्यालयमा भविष्य देख्न थालेका छन्।
‘कर्णालीको विकट जिल्लाबाट राम्रो नम्बर ल्याएर एसएलसी गरेँ भने जता पनि छात्रवृत्ति पाइहालिन्छ,’ उनी भन्छन्, ‘त्यसकै लागि अहिले आफ्नो जिल्ला फर्केको छु।’
सरकारले उच्च शिक्षाका साथै प्राविधिक शिक्षामा सामुदायिक विद्यालयबाट आएकालाई छात्रवृत्तिलगायत कोटामा अवसर दिने नीति ल्याएपछि अपेक्षा र जनकजस्ता विद्यार्थी बोर्डिङ छाडेर सामुदायिकमा फर्किन थालेका छन्। जिल्ला शिक्षा कार्यालयका अनुसार पछिल्लो समय यस्ता विद्यार्थीको संख्या अधिक छ।
सुर्खेतको जन उमाविबाट विशिष्ट श्रेणीमा एसएलसी गरेकी सबिना दाहालले एक साताअघि पाटन हेल्थ साइन्स इन्स्टिच्युटबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकालिन्। सोही विद्यालयबाट एसएलसी गरेका कुबेर खड्काले पनि अघिल्लो वर्ष छात्रवृत्तिमै एमबिबिएसमा नाम निकालेर चितवनमा पढिरहेका छन्। नागरिक दैनिकबाट













प्रतिक्रिया