२९ आश्विन २०८३, बिहिबार

गुटमा तानातान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jn Khanal & KP Oliकाठमाडौं, १९ असार । आजबाट सुरु हुने एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले गुट भेला तीव्र पारेका छन् ।

दुवैले अर्को गुटबाट तान्ने र नखुलेकालाई आफ्नो पक्षमा ल्याउने कसरत बढाएका छन् । यही क्रममा दुवै समूहले बुधबार राजधानीमा छुट्टाछुट्टै भेला गरे । ओली समूहले बिहान बागबजारमा भेला गरेको थियो भने नेपाल समूहले दिउँसो प्रज्ञा प्रतिष्ठानमा ।

अहिलेसम्म कतै नखुलेका अध्यक्ष झलनाथ खनाललाई बुधबार उनकै निवासमा भेटेर नेता नेपालले सहयोगको आग्रह गरे । स्रोतका अनुसार खनालले स्पष्ट जवाफ दिएका छैनन् । दिउँसो आयोजित पार्टीको पत्रकार सम्मेलनमा उनले अझै सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेता ओलीले पनि उनैलाई सही थपे ।

महाधिवेशनबारे पार्टीको औपचारिक पत्रकार सम्मेलन भइरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानमा बेग्लै भेला गर्दै थिए । लामो समयदेखि ओलीका ‘खम्बा’ भनेर चिनिएका नेता कृष्णगोपाल श्रेष्ठले भेलामा बोल्दै ओली खेमाको गठबन्धनलाई ‘अपवित्र’ संज्ञा दिए । नेता नेपालले छाडेको काठमाडौं-२ को उपनिर्वाचनमा उम्मेदवार बनेदेखि नै श्रेष्ठले गुट परिवर्तन गरेको चर्चा थियो । पहिले काठमाडौं-९ बाट हारेका श्रेष्ठ उपनिर्वाचनमा पनि पराजित भए ।

स्रोतका अनुसार नेपालले पदाधिकारीको उम्मेदवार बनाउने आश्वासन दिएपछि श्रेष्ठले गुट फेरेका हुन् । ओली खेमा छाड्ने श्रेष्ठ नै अहिलेसम्मका ठूला नेता हुन् ।

उपाध्यक्ष तथा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई नम्बर एक भ्रष्टाचारी घोषणा गर्ने नेता प्रदीप नेपाल उनकै सल्लाहकार हुनु, छैटौं महाधिवेशनमा गौतमले सुरासुन्दरी प्रकरण मच्चाएको भनी लिखित मत राखेका महासचिव ईश्वर पोखरेल त्यही खेमामा हुनुलाई अपवित्र मानेको श्रेष्ठले बताए ।

नेपाल नेतृत्वको सरकारका बेला माओवादीले सत्ता कब्जा गर्ने उद्देश्यले आमहडताल गरेको थियो । नेता ओलीले त्यसविरुद्ध उभिएर माओवादी योजना निस्तेज पार्नुभएको थियो । तर गौतमले माओवादी बोलीमा लोली मिलाउने काम गर्नुभएको थियो । अहिले दुवैजना सँगै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘यो कसरी भयो रु म कहिल्यै कसैको हनुमान र दास भइनँ ।’

नेपाल खेमाका धेरै हस्तीहरू यसअघि नै ओली खेमामा समावेश भइसकेका छन् । अघिल्लो महाधिवेशनमा खनाल खेमाबाट महासचिव बनेका ईश्वर पोखरेल बीचमा नेपालतिर थिए । उनी यस पटक ओली खेमाबाट महासचिवका उम्मेदवार हुन् । प्रदीप नेपाल, मुकुन्द न्यौपाने, केशव बडाल, महेन्द्र पाण्डे, रामनाथ ढकाल र विनोद श्रेष्ठ संसदीय दलको चुनावकै बेला ओली खेमामा लागेका थिए ।

‘आठौं महाधिवेशनमै नेता नेपालले सहमति भए मात्र अध्यक्ष हुन्छ’, नत्र कसैसँग लडेर बन्दिनँ भन्नुभएको थियो । त्यसबेला उहाँले ओलीलाई नै समर्थन गर्नुभएको थियो । त्यो भनाइमा अडिएको भए अहिले ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्थ्यो,’ नेता ढकालले भने, ‘लामो समय पार्टीलाई नेतृत्व गरिसकेको भए पनि उहाँले फेरि लोभ राख्नुभयो । जबकि नयाँ नेतामा नेतृत्व जानुपर्छ भन्ने धेरैको मत छ ।’

खनाल खेमाबाटै उपाध्यक्ष बनेका वामदेव गौतम ओलीतिर छन् । खनाल समूहकै नेताहरू यतिखेर बाँडिएका छन् । किरण गुरुङ, दलबहादुर राना, हरि पराजुली, रवीन्द्र अधिकारी, रूपनारायण श्रेष्ठलगायत ओलीतिर र घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरे, बैजनाथ चौधरी, रामकुमारी झाँक्रीलगायत नेपाल खेमातिर छन् । अध्यक्ष खनाल पक्षधर सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र प्रकाश ज्वाला नेपालतिर एवं भानुभक्त जोशी र सूर्य थापा ओलीतिर छन् । कान्तिपुर दैनिकबाट