२९ आश्विन २०८३, बिहिबार

मन्त्रीले सिकाए राजदूतलाई मर्यादा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Panditकाठमाडौं, १८ असार । भारतीय दूतावासले एक साताअघि भारतीय राजदूत रणजित रेलाई भेट्न सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ठाडो प्रस्ताव राख्यो।

मन्त्री पण्डितले भने त्यसलाई अस्वीकार गरे। त्यसपछि राजदूत रेले परराष्ट्र मन्त्रालयसँग अनुमति मागे र मंगलबार सामान्य प्रशासन मन्त्रालय सिंहदरबार पुगेरै मन्त्री पण्डितलाई भेटे।

कूटनीतिक आचारसंहिताविपरीत विभिन्न देशका राजदूतले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख भेट्दै आइरहेका भए पनि सामान्य प्रशासन मन्त्री पण्डितले कूटनीतिक परिपाटीमा जोड दिँदै भारतीय राजदूतलाई सोझै नभेटेका हुन्। ‘मैले केही नयाँ काम गरेको होइन,’ उनले  भने, ‘कूटनीतिक आचारसंहिता पालना गरेको मात्रै हुँ।’

उनले राज्यको मन्त्रीले नै सरकारको नियम–कानुन पालना नगरे अरूलाई पालना गर्नुपर्छ भन्न नसुहाउने बताए। ‘कूटनीतिक आचारसंहिता मिचेर म कसैलाई पनि भेट्दिनँ,’ मन्त्री पण्डितले भने।

स्रोतका अनुसार राजदूतले सीधै भेट्न गरेको प्रस्ताव मन्त्री पण्डितले अस्वीकार गरेपछि भारतीय दूतावासले सातादिनअघि भेटका लागि परराष्ट्रमन्त्रालयमार्फत अनुमति लिएको थियो।

त्यसपछि परराष्ट्रले सामान्य प्रशासन मन्त्रालयसँग समय माग्यो। सामान्य प्रशासनले मंगलबारलाई समय दिएको जानकारी गराएपछि परराष्ट्रले भारतीय दूतावासमा खबर गरेको थियो। राजदूत रेले मंगलबार बिहान ११ बजे मन्त्रालय पुगेर ४५ मिनेट मन्त्री पण्डितसँग कुराकानी गरेका थिए। नागरिक दैनिकबाट