देश एमालेको महाधिवेशमय बनेको छ । अष्ट्रेलियादेखि अमेरिकासम्मका नेपालीहरू प्रतिनिधि बनेर महाधिवेशनमा भाग लिन काठमाडौं आएका छन् ।
प्रवासका तिनै लाखौं नेपालीमध्ये एक हुन् पुष्पराम तिमल्सिना । गैरआवासीय नेपाली संगठन (एनआरएन) का केन्द्रीय सल्लाहकार रहेका उनी पनि यतिबेला स्पेनबाट एमाले महाधिवेशन प्रतिनिधि बनेर आएका छन् । यसपटक महाधिवेशनमा प्रवासका नेपालीहरूले पहिलो पटक केन्द्रीय तहमा चुनावी प्रतिस्पर्धा गर्दैछन् । एमालेको केन्द्रीय तहमा प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी तिमिल्सना एमालेको वैकल्पिक केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।
हुन त उनको पहिचान नेताभन्दा पनि व्यवसायीको रुपमा छ । व्यवसायीको पहिचान भए पनि स्कुल जीवनदेखि नै उनी राजनीतिमा आबद्ध भएका थिए । पर्वतमा जन्मिएका उनले गाउँकै पशुपति माविबाट एलएलसी उत्तिर्ण गरे । पञ्चायतको बेला स्कुले जीवनदेखि नै उनमा कम्युनिष्ट पार्टीसँग निकटता थियो । एलएलसी पूरा गरेपछि वकिल भन्ने सपनासहित उनी काठमाडौं छिरे । क्याम्पस जीवन सुरु भएलगत्तै अनेरास्ववियुमा आबद्ध भएर राजनीतिलाई पनि निरन्तरता दिए । त्यतिबेला एलएलएमको पढाई नहुने भएकाले राजनीतिशास्त्रमा माष्टर डिग्री गरे ।
‘वकिल हुने सपनासहित ल पढेपनि पढाई पूरा गरेपछि लाइफ मोडियो’ तिमल्सिना भन्छन्, ‘वकिलको लाइसेन्स पनि लिइयो, तर बहसभन्दा जागिरतिर लागियो ।’ प्रविणता तहको पढाइपछि उनले काम र पढाईलाई सँगै निरन्तरता दिए । पछि एउटा प्रोजेक्टमा कार्यरत भएका थिए । देशमा बढ्दै गएको द्वन्द्वले गर्दा उक्त प्रोजेक्ट बन्द हुन पुग्यो । उनी पछि बेलायततर्फ लागे । यो सन् २००२ को कुरा थियो । तीन वर्ष बेलायतमा बिताएपछि उनी बिजनेशको योजनासहित स्पेन पुगे । स्पेनको प्रसिद्ध सहर बार्सिलोनामा उनी सुपरमार्केट, रेष्टुरेन्टका तथा चिजसम्बन्धी व्यवसायमा आबद्ध छन् । पछिल्ला वर्षमा नेपालमा पनि हाउजिङ र हाइड्रोपावरको क्षेत्रमा उनले लगानी सुरु गरेका छन् ।
विदेशमा गए पनि राजनीति देशप्रतिको मोहले उनलाई छाडेन । खासगरी स्पेनमा पुगेपछि एनआरएनको गतिविधिमा उनी बढी सक्रिय भए । नेकपा एमाले निकट लोकतान्त्रिक मञ्चमा आवद्ध भए । सन् २००७ मा उनकै अध्यक्षतामा स्पेनमा मञ्चको स्थापना भयो । अध्यक्षको रुपमा उनले दुई कार्यकाल बिताए । पछिल्लो समय मंचको यूरोप इन्चार्ज हुने तय भएपछि अधिवेशन रोकिएको थियो ।
एनआरएनमा पनि केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । गत वर्ष भएको सम्मेलनमा सचिव पदमा उम्मेवदारी दिएपनि थोरै मतले पछि परेका थिए । स्पेनमा पाँच हजार नेपाली पुगिसकेका छन् । त्यहाँ रहेका नेपालीहरूको समस्याको हल गर्नु आफूहरूको प्रमुख दायित्व भएको उनी बताउँछन् । त्यसका साथै दुई देशबीचको सम्बन्ध सुदृढ बनाई नेपालको पर्यटन प्रबद्र्धनमा पनि आफूहरू लागिपरेको तिमल्सिनाले सुनाए ।
‘तपाई कुन गुटबाट चुनाव लड्ने ?’ महाधिवेशनमा उम्मेद्वारी नै घोषणा गरेपछि उनलाई आजभोलि धेरैले सोध्ने प्रश्न हो यो । यो प्रश्नले उनलाई दिक्क लागिसकेको छ । एमालेमा मौलाएको गुटबन्दीबाट उनी दुःखी छन् । ‘म एमाले गुटको हुँ भनेर सबैलाई उत्तर दिने गरेको छु,’ तिमल्सिनाले सुनाए ।
गुटबन्दीले पार्टी कमजोर हुने चिन्ता समग्र प्रवासी नेपालीहरूमा रहेको उनी सुनाउँछन् । ‘पहिला घर बलियो भने भने जता सुतेपनि हुन्छ,’ तिमल्सिना भन्छन्, ‘तर छाना चुहियो भने कहाँ सुत्ने ?’ गुटबन्दीले एमालेमा छानो चुहिने चिन्ता उनको छ ।
यसपटकको संविधानसभा निर्वाचनमा एमालेले प्रवासका कमिटीहरूसँग पनि समानुपातिकका लागि नाम मागेका थिए । यसबाट धेरै प्रवासीहरू खुशी भएका थिए । तर पछि सूची बुझाउने क्रममा एक जना पनि नपरेपछि चित्त दुःखेको उनी बताउँछन् । ‘पार्टीको केन्द्रीय तहमै प्रवासको प्रतिनिधित्व हुनुपर्छ भनेर साथीहरूले जोड दिए, त्यहीकारण म अहिले चुनाव लड्न गइरहेको हु’उनले भने । २०४७ सालमा नै संगठित सदस्यता लिएर उनी एमालेमा आबद्ध भएका व्यक्ति हुन् । संघर्षको क्रममा उनी जहा पुगेपनि पार्टीलाई बिर्सिएनन् । एमालेको केन्द्रीय तहमा बसेर प्रवासका रहेका नेपालीहरूलाई देश र पार्टीसँग जोड्न आफूले पुलको काम गर्ने उनको भनाइ छ ।
त्यसका साथै एनआरएनसँग पार्टीको सम्बन्ध बलियो बनाउने, कम्यूनिष्ट पार्टी पनि लोकतान्त्रिक र लोकप्रिय हुन्छन् भनेर बिश्वमा सन्देश फैलाउने र देशमा लगानी भित्राउने सहयोग गर्ने उनको मुख्य एजेण्डाहरू छन् ।
प्रवासको व्यवसाय, राजनीति र स्वदेशमा लगानीलाई सँगसँगै लैजाने तयारीमा उनी जुटेका छन् । स्पेनको बार्सिलोनामा बसेपछि बारम्बार नेपाल आएर देशमै लगानी विस्तारको तयारीमा छन् । बिदेशी कम्पनीसँगै सहकार्य गरेर पोखरामा उनले हाउजिङमा लगानी गरेका छन् । अब स्पेनका व्यवसायीसँग मिलेर जलबिद्युत्को क्षेत्रमा लगानी गर्ने उनको तयारी छ । त्यसका लागि सोलुखुम्बु, लमजुङ, म्याग्दी लगायतका जिल्लामा सम्भाव्यता अध्ययनको काम भइरहेको उनले बताए ।











प्रतिक्रिया