काठमाडौं, १७ असार । समूहगतरूपमा आफ्ना प्रचार अभियान सञ्चालन गरिरहेका एमालेमा शीर्ष नेताहरू सोमबार पार्टी केन्द्रीय कार्यालयको एउटै मञ्चमा सहभागी भएर एकताको सन्देश दिन खोजेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन समूहगत भेला र गतिविधि भइरहेका बेला नवौं राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आज केन्द्रीय कार्यालयमा प्रचार प्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ओलीबाहेक दुवै समूह निकट मानिने शीर्ष नेता सहभागी थिए।
संसदीय दलको बैठकका कारण नेता ओली उपस्थित हुन नसके पनि अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव शङ्कर पोखरेलगायतका नेताहरु भनाइ राखेका थिए।
नेताहरूले महाधिवेशनबाट सहमति वा निर्वाचनबाट नेतृत्य चयन भए पनि पार्टी सुदृढ, एकतावद्ध र गतिशील बन्ने उद्घोष गरे। नेताहरूले छानिएर आएका प्रतिनिधि सार्वभौम भएकाले उनीहरूको निर्णय आफूले मान्ने बताए।
अध्यक्ष खनालले महाधिवेशनपछि पार्टी नयाँ ढङ्गले अघि बढ्ने जनाउँदै नयाँ जनवादी क्रान्तिपछि समाजवादका आधार तय गर्दै मुलुकलाई निर्माणको युगमा लैजाने विश्वास व्यक्त गरे।
अध्यक्षका प्रत्याशी नेता नेपाल वा ओली कसलाई तपाइँको समर्थन हो भन्ने प्रश्नमा अध्यक्ष खनालले स्पष्ट जवाफ दिएनन्। उनले आफू उम्मेदवार नबन्ने र सहमति भएमा अध्यक्ष बन्न तयार रहेको पुनः बताए।
खनालले भने, ‘मेरो समर्थन सुदृढ, एकतावद्ध र प्रभावकारी एमाले बनाउने शक्तिलाई हुनेछ । पार्टीमा जतिवटा समूह भने पनि ती सबै हाम्रै मान्छे हुन्।’ उनले प्रतिनिधिलाई पनि प्रभावकारी एमाले बनाउने गरी भूमिका निर्वाह गर्न अपिल गरे।
नेताहरूका समूहगत भेला र गुटबन्दी रोक्न सक्नुभए न नि रु भन्ने जिज्ञाशामा उनले भने, ‘रेफ्रीले सिठी बजाउन नपाउँदै खेलाडी मैदानमा दौडेकाले यस्तो भएको हो।’ अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया