२९ आश्विन २०८३, बिहिबार

माओवादीमा वैद्य र चन्दको छुट्टाछुट्टै प्रतिवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, १७ असार । नेकपा–माओवादी पोलिटब्युरो बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको दुई छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन पेस भएको छ। अध्यक्ष वैद्यले पेस गरेको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै सचिव चन्दले पनि फरक राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।

अध्यक्ष मोहन वैद्यको जोड ‘जनयुद्धको जगमा जनविद्रोहु र सचिव नेत्रविक्रम चन्दको जोड ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’ बैठकमा छुट्टाछुट्टै दुई प्रतिवेदन पेस भएपछि असारमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन नै अन्योलमा परेको छ।

एकीकृत नेकपा माओवादीसँग कार्यगत एकताको औपचारिक घोषणा भएको भोलिपल्ट आइतबार नै चन्दले पोलिटब्युरो बैठकमा आफ्नो फरक प्रतिवेदन पेस गरेका हुन्। एकीकृत नेकपा माओवादीबाट विभाजन भएर नेकपा–माओवादी गठन भएको दुई वर्ष पनि भएको छैन।

पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले बैठकमा पेस भएका प्रतिवेदनका विषयमा छलफल जारी रहेकाले थप जानकारी दिन नमिल्ने बताए। ‘हिजोका दिनमा पार्टीमा तीन–तीनवटा फरक प्रतिवेदन आउँदा पनि हामीले छलफल गरेका हौं, आज दुइटा आउँदा पनि छलफल गर्छौँ,’ कँडेलले भने, ‘फरक दस्तावेजका रूपमा सम्मेलनमा लैजाने कि पूरक प्रतिवेदनका रूपमा लिने भन्ने निर्णय केन्द्रीय समिति बैठकले लिनेछ।’ उनका अनुसार पार्टीभित्र राजनीतिक विषयमा छलफल जारी नै रहेकाले कुनै निष्कर्ष भने निस्केको छैन।

तर, असार २६ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको भए पनि पोलिटब्युरो बैठकमा चन्दले फरक प्रतिवेदन पेस गरेपछि सम्मेलनको मिति तय नगरी पोलिटब्युरो बैठक सम्पन्न भएको छ।

उक्त बैठकले दुवै प्रतिवेदनका विषयमा छलफल गर्न तथा सम्मेलनका एजेन्डा तय गर्न असार १८ गतेका लागि केन्द्रीय समितिको पूर्ण बैठक बोलाएको छ। अध्यक्ष वैद्य र सचिव चन्दका फरक–फरक प्रतिवेदनलाई कसरी लिने भन्नेबारे उक्त बैठकले नै निर्णय गर्ने भन्दै पोलिटब्युरो बैठक स्थगित गरिएको छ।

त्यसो त रौतहट, काठमाडौं, भक्तपुर, काभ्रे, बारालगायत जिल्लामा अध्यक्ष वैद्य र सचिव चन्दका समानान्तर समिति सक्रिय छन। राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन हुनुअघि गठन भएका ती समानान्तर समितिबारे कुनै निर्णय लिन नसकिरहेका बेला चन्दले फरक राजनीतिक प्रतिवेदन पेस गरेपछि दुई वर्ष नपुग्दै माओवादी फेरि गम्भीर राजनीतिक र वैचारिक संकटमा परेको छ। नागरिक दैनिकबाट