महाधिवेशन प्रतिनिधिका सम्बन्धमा सबैका आफ्नै दाबी छन्, तपाईंले कसरी हेर्नुभएको छ ?
कम्युनिष्ट पार्टीका लागि महाधिवशेन सबै भन्दा ठूलो पर्व हो । संगठन निर्माण, पार्टी सिद्धान्त र विधि–विधानको विषयमा पनि महाधिवेशन आवश्यक हुन्छ । हामीले यसैलाई केन्द्रमा राखेर आगामी नवौँ महाधिवेशनका सन्र्दभमा बहस केन्द्रित गरेका छौँ । जनताको बहुदलीय जनवादलाई सम्वृद्ध बनाउने, नेपाली समाजलाई हेर्ने दृष्टिकोण, २०६२–०६३ जनआन्दोलनलाई हेर्ने सन्र्दभलगायतका विषयमा पनि हामीले बहस केन्द्रित गरेका छौँ । यी सबै हिसावले पनि आगामी नवौँ महाधिवेशन कोशेढुङ्गा सावित हुनेछ । विचारको हिसावमा पनि नवौँ महाधिवशेन महत्वपूर्ण हुनेछ । त्योसँगै हामीले आगामी नवौँ महाधिवेशनबाट २१ औँ शताव्दीको कम्युनिष्ट पार्टीलाई नेतृत्व गर्न सक्ने र पार्टीको विचारलाई बोकेर हिँड्ने सक्षम नेतृत्व छनोट गरेर जानुपर्ने हुन्छ । महाधिवेशनमा सहभागी हुने करिव २१ सय प्रतिनिधिले न्यायाधीशको भूमिका खेलेर पार्टीको नीति, विचार र सिद्धान्तलाई बोकेर हिँड्ने नेतृत्व छान्नु हुनेछ भन्ने मैले आशा लिएको छु ।
एमालेमा नीति, विचार र सिद्धान्तमा कुनै पनि मत भिन्नता देखिएको छैन भनिन्छ । अहिले देखिएको विवाद भनेको मात्रै नेतृत्वको सन्दर्भमा हो ?
एउटै विचार समूह पार्टीमा भएको भएको फरक–फरक समूह देखिने नै थिएन । अहिले फरक–फरक समूह देखिनु भनेको फरक–फरक विचार भएकाले नै हो । पार्टीमा एउटा विचारले जित्यो र ती विचार पारित भए । त्यसो भन्ने वित्तिकै अरु विचार वोक्नेहरुको सम्मान नै भएन भन्ने होइन । अहिले हामीले भन्न खोजेको पनि यही हो । कम्युनिष्ट पार्टीमा जसको विचार उसैको नेतृत्व हुन्छ । हामीले जसको विचार पारित भयो आगामी महाधिवेशनबाट उसैको नेतृत्व हुनुपर्छ भनेका हौँ । विचार एक जनाको पारित हुने अनि नेतृत्व अर्कैको भयो भने केशरजंग रायमाझी र पुष्पलालको जस्तो हुन्छ । विचार पुष्पलालको पारित भएर केशरजंग महासचिव बन्दा पार्टीको हालत के भएको थियो । हामीले त्यो कुराको पनि हेक्का राख्न जरुरी छ ।

यो महाधिवशेनबाट सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना कत्तिको छ ?
सम्भावना हरेका कुरामा हुन्छ । जसको विचार पारित भएको छ । उसैलाई नेता बनाएर जाने भन्ने कुरामा सहमति गरेर जाने हो भने माधवकुमार नेपाल वा अध्यक्ष झलनाथ खनाल सर्वसम्मत अध्यक्ष बन्न सक्नुहुन्छ । अझ भन्ने हो भने सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना अध्यक्ष खनालमा बढी हुन्छ । यदि सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भएन भने अध्यक्ष खनालले प्रतिस्पर्धामा गएर अध्यक्ष नबन्ने घोषणा गर्नुभएको छ । यस्तो अवस्थामा संसदीय दलका नेता ओली र वरिष्ठ नेता नेपालबीच नै प्रतिस्पर्धा हुन्छ । यो बाहेकको सम्भावना छैन ।
प्रतिस्पर्धा भएको अवस्थामा नेता ओली र नेता नेता नेपालमा कस्को सम्भावना वढी छ ?
मैले मेरो तर्क प्रस्तुत गरेँ भने त्यो पूर्वाग्रह जस्तो देखिन्छ । तथ्यलाई हामीले हेर्नु पर्ने हुन्छ । तथ्यलाई आधार मान्ने हो भने नेता नेपालको सम्भावना बढी देखिन्छ । कसैकसैले तथ्यलाई लुकाउन खोजेका छन् । प्रतिनिधि छनोटकै क्रममा कसको समूहबाट भनेर प्रष्ट भएर आएका प्रतिनिधि हुनुहुन्छ । त्यस कारण प्रतिनिधि छनोटका क्रममा को बलियो देखिएको छ त्यही अध्यक्ष बन्ने हो । अहिलेसम्मको अवस्था हेर्ने हो भने नेपाल पक्ष बलियो देखिएको छ । स्वभाविकै रुपमा नेपाल पक्षकै जित हुन्छ । देशव्यापी रुपमा हेर्ने हो भने नेपालको पक्षलाई भारी मतले विजयी गराउने प्रतिनिधि छनोट हुनुभएको छ । त्यति मात्र होइन पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पक्षमा भारतीय जनता लागे जस्तो नेता नेपालको पक्षमा एमालेका प्रतिनिधि लागेका छन् । प्रतिनिधिहरुको नेपालप्रतिको समर्थनले नेपालको पक्षमा मोदी लहर आएको छ । यस्तो अवस्थामा नेता ओलीले सर्वसम्मत नेतृत्व छनोटका लागि वातावरण बनाउनुपर्छ ।
चुनावी प्रतिस्पर्धामा जाँदा अध्यक्ष खनालले नेपाललाई समर्थन गर्ने सम्भावना कत्तिको छ ?
नेता नेपाल र अध्यक्ष खनालको एउटै विचार समूह हो । यस कारण पनि खनालले नेपाललाई समर्थन गर्ने निश्चित छ । उहाँहरुकै अगुवाईमा हामीले अघि सारेको विचार स्थापित भएको छ । त्यसैले विचारका आधारमा खनालले नेपाललाई समर्थन गर्नुहुन्छ । सगैँ जाने भनेको विचारमा एकता गरेर हो । अध्यक्ष खनालको नेता ओलीसँग विचार र एजेण्डा केही पनि मिल्दैन । अध्यक्षको नाताले सर्वसम्मत नेतृत्व चयन गर्ने सन्दर्भमा, पार्टीलाई एकतावद्ध गराएर लैजाने सन्र्दभमा उहाँ अहिलेसम्म कतै पनि नखुल्ने र कसैको पक्षमा नलाग्ने कुरा सही छ । निर्वाचन नै हुने अवस्थामा आफ्नो विचारको पक्षधरलाई समर्थन गर्ने कुरा निश्चित छ ।
आगामी महाधिवेशनबाट तपाईँको जिम्मेवारी कस्तो अपेक्षा गर्नु भएको छ ?
म पदका लागि कसैसँग पनि हात थाप्दै हिड्ँदिन । आजसम्म पार्टी र राजकीय क्षेत्रको कुनै पनि जिम्मेवारीका लागि मैले कसैसँग पनि हात थापेको छैन । तर, अहिले आम कार्यकर्ता र प्रतिनिधिको सुझाव वा आग्रह पदाधिकारीमा जानुपर्छ भन्ने छ । महत्वपूर्ण जिम्मेवारी लिएर पूरा गर्ने ठाउँमा बस्नुपर्छ भन्ने मेरो पनि इच्छा छ । प्रष्टरुपमा भन्दा मलाई सचिव पदमा बसेर काम गर्नुहोस् भन्ने सबैका सुझाव र आग्रह छ । म पार्टीभित्र सबैसँग सल्लाह गरेर उहाँहरुको आग्रह अनुरुप नै अघि बढ्ने छु ।
प्रस्तुतिः मोहन बास्तोला












प्रतिक्रिया