आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

राजधानीका ७० हजार घर जोखिममा

दैनिक नेपाल २०७१ असार १५ गते ५:२३

LAGAN_HOUSE_COLLAPSE_DEMOLI_20140628094556काठमाडौ, १५ असार । नुवाकोटका मानबहादुर तामाङले उपत्यकामा सयौं पुराना घर भत्काए, मर्मतसम्भार गरे । दुई दशकदेखि गर्द‍ै आएको यही कामले शनिबार कसो उनकै ज्यान लिएन १ सँगै घर भत्काइरहेका चार जनाले ज्यान गुमाए । उनीसहित पाँच जना चेपिएर पनि बच्न सफल भए ।

महानगरमा यस्ता हजारौं घरहरू छन्, जो जुनसुकै बेला भत्कन सक्छन् । वैज्ञानिक आयु कटेर जीर्ण अवस्थामा गुज्रिरहेका ती घरहरूले उच्च जोखिमबीच लाखौं राजधानीवासीलाई ओत दिइरहेका छन् ।

महानगरमा २ लाख ५४ हजार घर भएको तथ्यांक छ । तीमध्ये १ लाख ८० हजार पक्की छन् । बाँकी ७० हजार निकै जोखिमपूर्ण हुने गरी पुराना भइसके । महानगरका सूचना अधिकृत महेश काफ्लेका अनुसार खास गरी मुख्य सहरी क्षेत्रका पुराना घर निकै जोखिमपूर्ण छन् । ‘घरहरू जतिबेला पनि भत्किन सक्छन् । असन लगायतको क्षेत्र निकै जोखिमपूर्ण छ,’ उनले भने । ३०, २२, २४, २५, २६ र २७ नं वडाहरू पुरानो बस्ती भएका क्षेत्र हुन् ।

जोखिम क्षेत्रका अधिकांश घरहरू माटोको जोडाइले बनेका हुन् । एकआपसमा जोडेर बनाइएका घरहरू भत्कन थाल्दा मानिसहरू उम्कने खाली ठाउँसमेत छैन । ‘भूकम्पले ठूलो समस्या हुन सक्छ,’ काफ्लेले भने, ‘आगलागी भएमा दमकल छिर्ने ठाउँसमेत छैन ।’

पुराना रैथाने बस्तीहरूमा आफ्नै खाले सामाजिक समस्या छन् । एक नाले घरमा तलमाथि गरेर चाररपाँच भाइका परिवार अटाएका छन् । महानगरले त्यहाँ अढाई आनाभन्दा कम जग्गामा समेत घर बनाउन स्वीकृति दिनुपर्ने बाध्यता छ ।

काठमाडाौ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसमा लागू भएका निर्माण मापदण्ड पुराना सहरी भेगमा काम लागेका छैनन् । महानगरले त्यहाँ घर बनाउनका लागि उच्च सावधानी अपनाउनुपर्ने गरी मापदण्ड तोकेको छ । ‘ठाउँ नभएरै समस्या हो, घर नबनाउ भन्न सकिँदैन,’ काफ्लेले भने ।

सहरी विकास तथा भवन निर्माण विभागका कार्यकारी उपनिर्देशक शिवहरि शर्माले पुराना बस्ती सुधारका लागि सरकारले नयाँ नीति ल्याउनुपर्ने बताए । ‘मुख्य सहरी क्षेत्र निकै जोखिमपूर्ण छ, व्यक्तिगत सम्पति पनि जोगाउनैपर्छ । अहिले त दुर्घटना भएपछि दुःख मनाउने स्थितिबाहेक हामीसँग अरू केही छैन,’ उनले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित