३१ आश्विन २०८३, शनिबार

बलात्कारीलाई छुटाउन एमाले अध्यक्ष नै लागेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape

सप्तरी, १३ असार । आफूलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका स्थानीय एक युवकलाई छुटाउनका लागि राजनीतिक दबाबमा मिलापत्र गराउन खोजिएको पीडित युवतीले सार्वजनिक गरेकी छिन् ।

सो अभियोगमा पक्राउ परेका सप्तरीको मधुपट्टी–३ निवासी २६ वर्षीय युवक देवकुमार सदा मुसहरलाई छोडाउन राजनीतिक दबाबमा प्रहरीले मिलापत्र गराउन खोजिएको पीडितले सार्वजनिक गरेको हो ।

स्वास्थ्य जाँचका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल आइपुगेकी २० वर्षीया पीडित युवतीले राजनीतिक दबाबकै कारण मिलापत्र गर्नुपर्ने भन्दै प्रहरीले स्वास्थ्य परीक्षण गराई दिन नमानेपछि आफँै स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आइपुगेको बताइन् ।

पीडित युवतीका अनुसार आफ्नो घरमा एक्लै सुतिरहेका बेला ढोका फोडेर सदाले ज्यान मार्ने धम्की दिँदै गत मङ्गलबार राति आफूलाई बलात्कार गरेको र घटनाको भोलिपल्ट बिहान स्थानीयवासीको सहयोगमा प्रहरीले सदालाई कुशहाबाट पक्राउ गरिएको हो ।

घटनाबारे प्रहरीमा जाहेरी दिएको सुनेपछि नेकपा (एमाले) सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेलगायतका केही नेताले मिलापत्र गराउन दबाब दिँदै आएको बताउँदै घटनाको सम्बन्धमा बुधबार इलाका प्रहरी कार्यालय कल्याणपुरमा भएको छलफलमा रु ७५ हजारमा जबर्जस्ती मिलापत्र गराउन खोजिएको पीडित युवतीको काकी पर्ने सीतादेवीको भनाइ थियो ।

घटना जे हुनु थियो त्यो भइहाल्यो, अब थोरै पैसा लिएर मिलापत्र गराइहाल, आखिर जाहेरी दिएर, मुद्दा लडेर के हुन्छ, भन्दै छलफलमा एमालेका नेताहरूले आफूहरूलाई दबाब दिएको सीतादेवीले बताउनुभयो । राजनीतिक दबाबका बाबजुद पनि आफूहरूले मिलापत्र गर्न नमानेको पीडित युवतीकी काकी सीतादेवीको कथन थियो ।

पीडित युवती सानै छँदा उनकी आमा मरिसकेको छ भने बुबा रोजगारीको सिलसिलामा भारतमा छन् । यस सम्बन्धमा एमालेका जिल्ला अध्यक्ष न्यौपानेले घटना मिलापत्रका लागि आफूले कुनै किसिमको दबाब नदिएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजयकुमार यादवले मिलापत्र गराउन आफूहरूले कुनै दबाब नदिएको भन्दै अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइसकेको जानकारी दिनुभयो ।