काठमाडौ, १३ असार । प्रमुख प्रतिपक्ष दल एमाओवादीले संविधानसभामा रहेका मधेशी र जननजाति दलहरुसँग मोर्चा र मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीलगायत निकट दलहरुसँग कार्यगत एकता गरेको छ ।
संविधानसभाभित्र र बाहिर ‘प्रगतिशील संविधान’ निर्माणका लागि दबाव दिने भन्दै उसले मोर्चाबन्दी र कार्यगत एकता गरेको हो ।
मधेशी र जनजाति दलसंग मोर्चा बनाई संविधानसभाभित्र संघीयताका बिषयमा साझा धारणा बनाउने र त्यसका लागि उसले सडकबाट दबाव दिन दुई मोर्चाबन्दी गरेको एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीले जानकारी दिए ।
संविधानसभामा रहेका मधेशी र समाजवादी पार्टीसंग मिलेर उसले ‘संघीय गणतान्त्रिक मोर्चा’ र नेकपा-माओवादी, मात्रिका यादबको माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिस्ट पार्टीसंग मिलेर ‘कार्यगत एकता समिति’ गठन गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बिहीबार बिहान मधेशी दलसंगको छलफलले संविधानसभाभित्र मोर्चा गठन गर्ने सहमति गरेको हो ।
‘संविधानसभाभित्र संघीयतालगायतको बिषयमा साझा अवधारणा बनाउन संघीय गणतान्त्रिक मोर्चा गठन गर्ने सहमति भएको हो’ तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादबले भने, ‘मोर्चाको मुख्य काम पहिचान सहितको संघीयताका लागि बल गर्नु हो ।’ उनले आवश्यक परे मोर्चाले सडक संघर्ष गर्ने बताए । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया