काठमाडौं, १२ असार । नेकपा एमालेको नवौं महाधिवेशन मुल व्यवस्थापन सचिवालयको बैठकमा भनाभन र चर्काचर्की भएको छ ।
पार्टी अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समेतको उपस्थितिमा सचिवालयका संयोजक इश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकमा महाधिबेशनमा अध्यक्षका प्रत्यासी केपी ओली समूहले पार्टीको लेटरप्याड र छापको प्रयोग गरेको विषय उठेपछि चर्काचर्की भएको हो ।
गत जेठ २६ गते ओली समूूहले अल्फाबिटा कम्प्लेक्समा गरेको पत्रकार सम्मेलनमा नेता ओलीको नाममा जारी प्रेस बक्तव्यमा पार्टीको लेटर प्याड र छापको प्रयोग गरिएको थियो ।
भिन्न–भिन्न विचार समूह भएपछि भिन्न–भिन्न भेला हुनु नयाँ कुरा भएन । तर, गुटका भेलामा पार्टीको आधिकारिक लेटर प्याड र छाप प्रयोग गरिनुु अख्तियारको दुरुपयोग हो भन्दै सचिवालयका सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायतले चर्को विरोध गरेका थिए ।
सदस्यहरुको विरोध र भनाभनपछि अध्यक्ष खनालले रुलिङ गर्दै जसले गरेको भए पनि गल्ती भएकाले त्यसको छानविन गर्ने र आगामी दिनमा यस्ता गल्ती दोहारिन नदिने बताउनु भएको थियो । उहाँले छानबिनवाट दोषी देखिनेलाई कार्वाही समेत गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।
स्वयंसेवकका विषयमा पनि चर्काचर्की
महाधिवेशनमा खटाउने स्वयंसेवकको विषयलाई लिएर पनि बैठकमा चर्काचर्की भएको एमाले वरिष्ठ नेता माधव नेपालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यसअघि बैठकले विभिन्न जनवर्गीय संगठनलाई स्वयंसेवकको कोटा छुट्याएको थियो । जसमा अखिलले २५, युवा संघले २५ र उपत्यकाले २५ जना पाएका थिए । तर, संगठनको बैठक नै नबसी स्वयंसेवक उपसमितिमा विद्यार्थीवाट ऐन महर र युुवा संघवाट चन्द्र लामाको नाम राखिएपछि विवाद भएको सचिवालयले जनाएको छ ।
बैठकमा विवाद बढेपछि सबै विवाद हल गर्न, विवादित व्यक्तिको नाम उपसमितिमा राख्ने विषय स्वीकृत नगर्न र आउन सक्ने विवाद हटाउन सचिवालय बैठकले विष्णुु पौडेल, राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र रामनाथ ढकाल रहेको समिति गठन गरेको छ ।
















प्रतिक्रिया