काठमाडौ, १२ असार । नेकपा एमालेका सचिव विष्णु पौडेलले सर्वसम्मति वा निर्वाचन भएपनि अबको पार्टी अध्यक्ष केपी ओली नै हुने दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षत्कारमा उहाँले ओली पक्षधर दुई तिहाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएको भन्दै कसैले चाहेर पनि ओलीलाई अब अध्यक्ष बन्नबाट रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।
साक्षात्कारमा सचिव पौडेलले भन्नुभयो– ‘विचार र नेतृत्व दुबै केपी ओलीको हो । उहाँको विकल्प छैन । सर्वसम्मत भए पनि, निर्वाचन भए पनि उहाँ नै अध्यक्ष बन्नुहुन्छ । ओलीको पक्षमा दुई तिहाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनु भएको छ । हामी लिष्ट दिन सक्छौँ ।’
अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालको योगदान पार्टीले प्राप्त गरिसकेकोले अब उहाँहरु अविभावक भएर बस्नु पर्ने तर्क गर्दै उहाँले भन्नुभयो– ‘महात्मा गान्धी, गणेशमा सिंह, देङ साओ पिङ कसैले केही पद नलिए पनि उहाँहरुलाई सबैले सम्झन्छन् । उहाँहरु अब त्यस्तै बन्नुपर्छ ।’
एमाले सचिव पौडेलले यतिवला आमरुपमा एमालेभित्र एउटा व्यक्ति, दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नहुने भनेर विचार सार्वजनिक भैसकेको बताउनुभयो ।
नेपाली काँग्रेस नेतृत्वको सरकारको तत्काल विकल्प नभएको भन्दै उहाँले सरकार निर्माण हुँदा भएको सहमति अनुसार काँग्रेसले नै संविधान जारी गर्ने स्पष्ट पार्नुभयो । उहाँले एमालेको अध्यक्ष केपी शर्मा ओली भएपछि सरकार परिवर्तन हुन्छ भनेर आशंका नगर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
पहिचान र संघियताको नाममा एमाओवादी र मधेशी मोर्चावीच भएको गठबन्धनको औचित्य नभएको भन्दै उहाँले संविधानसभा बाहिर बन्ने यस्ता मोर्चाहरुले संविधान निर्माणमा अवरोध गर्ने आशंका ब्यक्त गर्नुभयो ।
















प्रतिक्रिया