२९ आश्विन २०८३, बिहिबार

बालबालिकाको रकमले शिक्षकलाई पोशाक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khotang–1

खोटाङ, १२ असार । लक्ष्यित वर्गअन्तर्गत बालबालिकाको शीर्षकमा आएको रकम खोटाङका एक विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई पोशाक भत्ता स्वरुप दिएको खुलासा भएको छ ।
जिल्लाको दक्षिणी गाविस विजयखर्कको गाउँ परिषद्बाट बालबालिकाको नाममा विनियोजित बजेट स्थानीय पञ्चकन्या उच्च माविका प्रधानाध्यापक ध्रुवराज आचार्यले शिक्षकलाई पोशाक भत्ताका लागि दिएको हो । आर्थिक वर्ष २०७०÷७१ को गाउँ परिषद्बाट विनियोजित बजेट उक्त विद्यालयका निजी तथा अस्थायी शिक्षकका लागि पोशाक भत्ता दिएको पाइएको गाउँ बाल सञ्जालका कार्यवाहक अध्यक्ष सुमन खनालले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘उक्त विद्यालयमा अध्ययनरत बालबालिकाका लागि गाविसले रु २० हजार बजेट छुट्याएको थियो, उक्त रकम कहाँ खर्च भयो भन्दै अनुगमन गर्न जाँदा प्रधानाध्यापकले शिक्षकको पोशाक भत्तामा खर्च गरेको पाइयो ।’ प्रधानाध्यापक आचार्यले सरकारले स्थायी शिक्षकका लागि मात्र पोशाक भत्ता दिएकाले निजी र अस्थायी शिक्षकका लागि उक्त रकम प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘विद्यालयमा अन्य स्रोत नभएकाले निजी शिक्षकलाई त्यही दिने भन्ने निर्णय भएको थियो, त्यही दिएँ ।’ गाउँ परिषद्ले गाविसभरका बालबालिकाका लागि भनेर रु एक लाख ३४ हजार बजेट विनियोजन गरेको थियो ।

उक्त रकम बालबालिकाको क्षमता विकास तथा बालबालिका लक्ष्यित कार्यक्रम सञ्चालनका लागि मात्र खर्च गर्न पाइने प्रावधान छ । यसबारे गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाविस सचिव ज्ञानप्रसाद पोखरेलले बालबालिकाकै निम्ति खर्च गरिएको बिल भर्पाई प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘मैले त प्राप्त बिल भर्पाईको आधारमा रकम भुक्तानी दिएको हो ।’ जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले बालबालिकाको रकम बालबालिकाकै हितमा खर्च हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘यदि त्यसो भएको हो भने तत्काल फिर्ता गर्न लगाउँछु ।’