काठमाडौं, १२ असार । करिब २ अर्ब ५५ करोड रुपैयाँ दुरुपयोग गरेको अभियोगमा पुनरावेदन अदालत पाटनको आदेशले थुनामा रहेका नेपाल सेयर मार्केट्सका तत्कालीन अध्यक्ष योगेन्द्रबहादुर श्रेष्ठलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको संयुक्त इजलासले पुनरावेदनमा मुद्दा विचाराधीन रहेकै अवस्थामा श्रेष्ठलाई साधारण तारेखमा रिहा गर्न बुधबार आदेश दिएको हो। नेपाल सेयर मार्केट्सको रकम दुरुपयोग गरी बैंक टाट पल्टाउने कार्यका मुख्य अभियुक्त श्रेष्ठले २ वर्षभन्दा धेरै समय थुनामा बिताएको भन्दै सर्वोच्चले रिहा गर्न आदेश दिइएको छ।
बैंकलाई हानि–नोक्सान पुर्याधउने कार्यमा संलग्न रहेको देखिएपछि श्रेष्ठलगायत अन्य सञ्चालकविरुद्ध सरकारले बैंकिङ कसुरमा मुद्दा चलाएको थियो। करिब ३२ महिनाअघि पुनरावेदनले कर्जा दुरुपयोग गरी सेयर मार्केट डुबाउने कार्यमा श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको भन्दै थुनामा पठाउने आदेश गरेको थियो।
उक्त आदेशविरुद्ध २०७० भदौमा सर्वोच्चमा निवेदन दर्ता भएको थियो। तल्लो अदालतको फैसलामा चित्त नबुझे माथिल्लो अदालतसमक्ष पुनरावेदन गर्ने अधिकार हुँदाहुँदै पुनरावेदन अदालतलाई चुनौती दिँदै श्रेष्ठ १७ नम्बर निवेदनमार्फत सर्वोच्च आएका थिए।
श्रेष्ठको उक्त निवेदन स्वीकार गर्दै सर्वोच्चले मुलुकी ऐनको १२३ नम्बरको व्यवस्थाअन्तर्गत ५ वर्षभन्दा कम सजाय हुने मुद्दामा १ वर्षभित्र फैसला नगरेको आधार देखाउँदै श्रेष्ठलाई रिहा गर्न आदेश सुनाएको हो।
नेपाल राष्ट्र बैंकको टोलीले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स सुधारका लागि पटक–पटक आदेश दिँदा पनि कार्यान्वयन नभएपछि नियन्त्रणमा लिएको थियो। त्यतिबेला फाइनान्सको व्यवस्थापन सम्हाल्न राष्ट्र बैंकका उपनिर्देशक सन्तोषकुमार घिमिरे संयोजक र सहायक निर्देशकद्वय काजीराम कार्की तथा प्रकाश श्रेष्ठ सदस्य रहेको टोली खटाइएको थियो। नागरिक दैनिकबाट













प्रतिक्रिया