काठमाडौंँ, ११ असार । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको सङ्ख्या पूर्व घोषितभन्दा बढी हुने भएको छ ।
प्रारम्भमा करिव एक हजार ९०० प्रतिनिधि हुने अनुमान गरिएकामा पार्टीको पछिल्लो सर्कुलरअनुसार भूगोलका कमिटीमा समावेशी प्रतिनिधिका लागि केही नयाँ प्राबधान दिइएपछि संख्या बढ्ने भएको हो ।
पार्टी केन्द्रीय सदस्य राजेन्द्र गौतमका अनुसार प्रतिनिधिको एकीन सङ्ख्या दुई हजार एक सय ६९ पुग्ने देखिएको छ । एमालेमा खुल्लातर्फ दुई सय सङ्गठित सदस्य बराबर एक र महिलाका लागि १५० सदस्य बराबर एक प्रतिनिधिको प्रावधान बनाइएको थियो ।
हाल एमालेका सङ्गठित सदस्यको सङ्ख्या सवा दुई लाख छ । यसरी मातहतका कमिटी र भातृ सङ्गठनबाट गरी एक हजार आठ सय प्रतिनिधि चयन हुँदैछन् ।
निर्वाचित प्रतिनिधिमा केन्द्रीय कमिटीका एक सय १६ सहित केन्द्रीय निकायका स्वतः (पदेन) प्रतिनिधि दुई सय ५६ लाई जोड्दा दुई हजार ५६ हुन्छ । त्यसमा पाँच प्रतिशत मनोनित गर्दा दुई हजार एक सय ६९ पुग्ने देखिएको हो ।
प्रतिनिधि चयनका क्रममा पछिल्लो विवरणअनुसार भक्तपुर, काठमाडौं, ललितपुरबाट प्रतिनिधि चयन भएका छन् । यस्तै उपत्यका पेसागत विशेष बुद्धिजीवी जिल्ला, विद्यार्थी विशेष जिल्ला कमिटीबाट पनि प्रतिनिधि चयन भएका छन् ।
यसैगरी अनेरास्ववियुबाट किशोरविक्रम मल्ल, रश्मी आचार्य, नवीना लामा र जीवन राई प्रतिनिधि चयन भएका छन् । थोमल बाँस्तोला र सरोज यादवको बराबर मत आएपछि सहमतिको प्रयास भइरहेको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघबाट खगेन्द्र राई, मधु गुरुङ, जंग पहाडी, राजेश थापा, भूमिका सुब्बा, उदय श्रेष्ठ र कृपाराम शर्मा छन् ।
हालसम्म ९० प्रतिशत प्रतिनिधि चयन भइसकेका छन् । काठमाडौँ क्षेत्र नं २, बर्दिया क्षेत्र नं १ र महोत्तरी क्षेत्र नं २ मा प्रतिनिधि चयन हुन बाँकी छ ।
















प्रतिक्रिया