सूर्यचन्द्र बस्नेत/ नारायण न्यौपाने
काठमाडौँ, ११ असार । मुलुकमा राजनीतिक परिवर्तन गरी लोकतन्त्र बहालीका लागि पटकपटक भएका आन्दोलनमा महत्वपूर्ण योगदान दिएको नेकपा (एमाले) नवौँ महाधिवेशनको संघारमा पुगेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनले ६ दशकभन्दा बढी अवधि नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा नेकपा (एमाले)ले त्यसको नेतृत्व गर्दै आएको छ ।
एमालेले पछिल्लो समय तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शनका रुपमा अघि सारेको छ । एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा र प्रजातान्त्रिक अभ्यासलाई पछिल्लो समयमा पार्टीका गतिविधिमा निकै सुदृढ र परिपक्क ढङ्गले अवलम्बन गरिँदै आएको विश्लेषण गरिन्छ ।
पार्टीले अवलम्बन गरेको विचार, सिद्धान्त, रणनीति र कार्यनीतिप्रति व्यवस्थित र प्रक्रियागत ढङ्गले छलफल गर्ने परिपक्क राजनीतिक दलको रुपमा स्थापित हुँदै गएपनि पछिल्लो समय यसलाई गुटगत राजनीतिको रोगले सताएको छ ।
यही असार १९ गतेबाट हुने नवौँ महाधिवेशनका लागि अहिले प्रतिनिधि छनोटको कार्य लगभग पूरा भएको छ । नेतृत्व छनोट समेत गर्ने आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले उम्मदेवारी घोषणा गर्नुभएको छ । दुवैले आ–आफ्नो पक्षको भेला तथा कार्यक्रम गरी आफूलाई नेतृत्वमा सक्षम र योग्य भएको बताउँदै आउनुभएको छ भने एकले अर्को पक्षको मानमर्दन हुने तहसम्मको उहाँहरुको प्रस्तुतिले भने कार्यकर्ता र शुभेच्छुकलाई पिरोलेको छ ।
लोकतन्त्रको नाममा देखिन थालेका यस किसिमको अराजकता, अनुशासनहिनता र गुट उपगुटको प्रवृत्ति रोक्न सक्ने नेतृत्व पार्टी तथा देशलाई आवश्यक भएको भन्दै सम्भव भए सहमति र नभए पनि लोकतान्त्रिक मूल्य मान्यताभित्र रहेर स्वस्थ प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन हुनुपर्छ भन्नेमा कार्यकर्ताको एउटै मत रहेको देखिन्छ ।
सिद्धान्त र नीतिका हिसाबले नवाँै महाधिवेशनसम्म आइपुग्दा एमालेमा दुई विचार देखिएका छैनन् । आगामी महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज सामूहिक छलफल र सहमतिका आधारमा तयार हुनुले सिद्धान्तमा होइन नेतृत्व कसले लिने भन्ने कुरामा मात्र विमति देखिएको पुष्टि गर्दछ ।
यसै सन्दर्भमा रासससँग कुराकानी गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्रदेव एमालेभित्र अहिले कोणप्रतिकोणबाट चलिरहेको बहस मुख्य रुपमा नेतृत्व हत्याउने र पार्टी कब्जा गर्ने नीतिसँग बढी केन्द्रित भएको देखिएको बताउनुहुन्छ । “एमाले कम्युनिस्ट पार्टीमा नभई सामाजिक लोकतान्त्रिक पार्टीको रुपमा रुपान्तरण भएको छ, उस्ले कम्युनिस्ट पार्टीको झन्डालाई टे«डमार्कको रुपमा प्रयोग गरिरहेको छ,” उहाँले भन्नुभयो ।
नेकपा संयुक्तका नेता गणेश शाहले एमाले कम्युनिस्ट आन्दोलनको मूल्य मान्यताबाट पछि हटेको छ, उक्त पार्टीभित्र अहिले देखिएको रडाको आन्तरिक पदको लुछाचुँडीका लागि हो भन्ने देखिन्छ, यस्तो अस्वस्थ प्रतिस्पर्धाले मुलुकको राजनीतिमा राम्रो सन्देश दिँदैन भन्नुभयो । “सत्ताका लागि जे पनि गर्न सक्नुपर्दछ भन्ने गलत सोचका साथ संसदीय भासमा एमाले फसेको छ र उसले संसद्लाई सर्वोपरि देख्न थालेको छ जुन कम्युनिस्ट विचारधारासँग मेल खाँदैन,” उहाँ भन्नुहुन्छ ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट माक्र्सवादी आन्दोलनका व्यवहार, दर्शन र सिद्धान्त छोडेर विशुद्ध पुँजीवादी पार्टीको रुपमा एमाले परिवर्तन हँुदै गएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “एकातिर हँसिया हथौडा चिह्न देखाउँदै हामी सर्वहारा, शोषित पीडितका पक्षधर हाँै भनेर नारा दिइरहने अनि अर्काेतर्फ डन पाल्ने र मुलुकभर एनजिओ चलाउने पार्टी कसरी कम्युनिस्ट पार्टी बन्न सक्छ,” अध्यक्ष केसीको प्रश्न छ ।
पुँजीवादी पार्टीभित्र पद, सम्पत्ति र पैसाको होडबाजी हुन्छ, महाधिवेशनमार्फत त्यसलाई कसले बाजी मार्ने भन्ने रणनीतिको पूर्व अभ्यासको रुपमा नेतृत्वका लागि दुईपक्षबीच वाक युद्ध भएको अध्यक्ष केसीले बताउनुभयो ।
राष्ट्रियता सङ्कटमा रहेको, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर संविधान लेखनले पूर्णताः पाउने हो, होइन भन्ने प्रश्न उठेको बेला त्यसमाथि बहस र छलफल चलाउनुको साटो विशुद्ध नेतृत्वको लागि मात्र बहस केन्द्रित हुनु गलत भएको विश्लेषकहरु बताउँछन् ।
एनेकपा माओवादीका नेता राम कार्कीले नेकपा (एमाले) कम्युनिस्टधारलाई छोडेर प्रजातान्त्रिक समाजवादतर्फ रुपान्तरणको प्रयासमा रहेको टिप्पणी गर्नुभयो ।
अन्तर्राष्ट्रिय समुदायलाई उदार प्रजातन्त्रमार्फत अघि बढ्ने विश्वास दिलाउने चेष्टा गरिरहेको बताउँदै उहाँले जनताको मतलाई आकर्षण गर्न मात्र कम्युनिस्टको ट्याग नछोडेको प्रतिक्रिया दिनुभयो ।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले नाममा कम्युनिस्ट भए पनि सिद्धान्त र व्यवहारमा एमाले बुर्जुवा पार्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनले एमालेलाई क्रान्तिकारी बनाओस् र बन्नुपर्ने आवश्यकता पनि छ,” ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले नाममात्रको कम्युनिस्ट भएको जनाउँदै उस्ले कम्युनिस्ट सिद्धान्त र आदर्श छाडिसकेको प्रतिक्रिया दिनुभयो ।
“परम्परागत सोचको ह्याङओभरबाट उठेर परिवर्तित परिस्थितिलाई ध्यानमा राखेर सामाजिक लोकतान्त्रिक पार्टीका रुपमा एमाले रुपान्तरण हुनुपर्छ, एमालेभित्र नेतृत्व चलाउन सक्ने ओझेलमा परेका नयाँ पुस्ताका धेरै योग्य र सक्षम व्यक्तिलाई महाधिवेशनले अघि ल्याउन सक्नुपर्छ,” अध्यक्ष यादवले भन्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनका परिचित नेता राधाकृष्ण मैनालीले अरु राजनीतिक दलमा जस्तै एमालेमा पनि विचारको होइन, गुटको निर्माण भइरहेको छ भन्नुभयो ।
“गुट प्रवृत्ति हाबी भएकाले विचारमाथिको बहस हुन छाडेको, बनाएको नीतिको नेतृत्व तहबाटै पालना नभएको तथा एमालेको नेतृत्वमा रहने भनी चर्र्चामा रहेका व्यक्तिमा सैद्धान्तिक नभई गुटगत रोगले गाँजेको छ,” उहाँले भन्नुभयो ।
एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा र प्रजातान्त्रिक अभ्यास भने निकै सुदृढ रहेको धारणा व्यक्त गर्दै नेता मैनालीले भन्नुभयो, “पछिल्लो समय सहरबाट एमाले क्रमशः बढारिँदै गाउँतर्फ खुम्चन पुगेकाले यसको भविष्यप्रति प्रश्न उठिरहेको छ ।”
नेपाल प्राध्यापक सङ्घकी पूर्व अध्यक्ष सुप्रभा घिमिरेले एउटै पार्टी र खेमामा लामो समयसम्म सहकार्य गरेका नेताहरुबाट अध्यक्ष पद आफ्नो पक्षमा पार्न एकअर्काको मानमर्दन गर्दै योगदानको अबमूल्यन गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभयो ।
आफूले गरेका गलत कामलाई पनि ठीक देख्ने प्रवृत्ति अत्य गर्न, दोस्रो पुस्तालाई माथि उठाउन मार्गप्रशस्त गर्न तथा दलका सबैखाले गतिविधिलाई पारदर्शी र लोकतान्त्रिक बनाउने नेतृत्व चयनका लागि आगामी महाधिवेशन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सिन्धुपाल्चोकमा प्रतिनिधि चयन
यसैबीच नेकपा (एमाले)को महाधिवेशनका लागि सिन्धुपाल्चोकको तीनवटै निर्वाचन क्षेत्रबाट १९ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन्न निर्वाचनमा क्षेत्र नं १ बाट कमल नेपाल, केदार क्षेत्री, निमफुञ्जु शेर्पा, मेघनाथ पौडेल, भेषराम ढकाल र सुशीला पाख्रिन तथा क्षेत्र नं २ बाट सुभाष कर्माचार्य, झम्क नेपाल, कृष्णराज श्रेष्ठ, बादल तामाङ, दालबहादुर सापकोटा, सरस्वती अधिकारी र मजदुरबाट दुर्गाबहादुर श्रेष्ठ र दलितबाट रामबहादुर सुनार निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्षेत्र नं ३ बाट डम्बर अर्याल, कृष्ण चौलागाईं, भगवती नेपाल, डोल्मा तामाङ र बालकृष्ण देउजा निर्वाचित हुनुभएको नेकपा (एमाले) जिल्ला कमिटीले जानकारी दिएको छ । रासस
















प्रतिक्रिया