मुलुकका प्रधानमन्त्री सुशील कोइराला विरामी छन् । लामो समयदेखि विरामी रहेका कोइराला विरामी हालतमै मुलुकको प्रधानमन्त्री भएका हुन् । अहिले उनी थप विरामी भए, यसको प्रधानमन्त्री पदसँग कुनै साइनो छैन, यो संजोग मात्र हो । जिब्रोको अर्बुदरोगका विरामी, उनको रोग चानचुने हैन । त्यसैले नियात्राकार ताना शर्माले भन्ने गरेको पाताल अर्थात् अमेरिकामै उनको उपचार हुँदैआएको हो । अहिले फेरि त्यही अर्बुदरोग फोक्सोमा पनि आएको हो कि भन्ने गम्भीर आशंका छ, त्यही आशंका निवारण गर्ने क्रममा अहिले उनी पातालमा छन् । उनी पाताल पुगेको सुरुवाती दिनमा उनीसँग खिचिएका पोज पोजका फोटाहरुले धेरै बिग एप्पलबासी नेपालीले आफ्ना सामाजिक सञ्जाल भरिभराउ बनाएका थिए, अहिले तिनै बिग एप्पलबासीहरु आफ्ना स्टाटसमा लेखिरहेका छन्, प्रधानमन्त्री कोइरालाको स्वास्थ्यस्थिति गम्भीर ।
औपचारिक रुपमा मुलुकले उनको स्वास्थ्य बुलेटिन जारी नगरेसम्म यो खबरले त्यति ठूलो महत्व त नराख्ला । तर, सामाजिक सञ्जाल नै समाचारको पहिलो स्रोतका रुपमा विकास भैरहेको नेपाली सञ्चार जगतमा यो समाचार स्टाटस मात्र हो भनी हाल्न सकिने अवस्था पनि छैन । जे होस्, प्रविधिले सुसम्पन्न पातालमा छन् हाम प्रधानमन्त्री । अमेरिकाकै दोस्रो महान अस्पतालमा उपचाररत् छन् उनी । मुलुकका प्रधानमन्त्री भएकाले स्रोतको कमी हुने छैन । यसैले पनि, उनलाई विश्वमा उपलव्ध अब्बल दर्जाको स्वास्थ्य उपचार उपलव्ध नहुने कुरै भएन । यति भएपछि त्यसले दिने चिरञ्जीवी भवः पनि उनलाई हासिल हुने नै भयो । बाँकी त उनैले भन्ने गरेको भगवानको कृपा हो जीवन । यही सकारात्मक नोटका साथ अहिललाई यति मात्र कामना गरौं, फेसबुकको स्टाटस झुटो होस्, हाम्रा प्रधानमन्त्री पूर्ण स्वस्थ भएर विरामी भएको मुलुकको उपचार गर्न छिटै फर्कुन् ।
नेपालीमा एउटा भनाइ छ, रोग त सत्रुलाई पनि नलागोस् । त्यसमा पनि अर्बुदरोग, लागोस् भन्ने त कुरै छोडौं सोच्ने कुरा पनि भएन । तर, दुर्भाग्य हाम्रा प्रधानमन्त्रीको । उनी यो रोगका शिकार छन् । यो उनको त दुर्भाग्य हो नै, मुलुक र मुलुकबासीको पनि हो । मुलुकलाई नै राजनीतिक अस्थिरताको गम्भीर रोग लागेको बेला, मुलुकका प्रधानमन्त्री पनि अर्बुदरोगका विरामी । योे संजोग मात्र हैन, नियतिको खेल पनि हो । पातालको स्रोतले भन्न थालेको छ, प्रधानमन्त्री कोइरालाको बास कम्तीमा अरु एक महिना बिग एप्पलमै हुनेजस्तो छ । यो खबर सत्य नहोस्, यो पनि अर्को प्रिय चाहना हो । तर, सबै प्रिय चाहना कहाँ पूरा हुन्छन् र ?
यदि त्यही नै सत्य हो भने अबको एक महिना मुलुकको दिन र दशा के हुन्छ त ? यसै भन्न नसकिए पनि अनुमानको खेती गर्न भने सकिन्छ । अहिले मुलुकको सरकार कांग्रेस नेतृत्वको हो । सरकारमा दोस्रो दर्जाका उपप्रधानमन्त्री वामदेव गौतम कार्यवाहक प्रधानमन्त्री छन् । पाताल प्रवास जानुअघि प्रधानमन्त्री कोइरालाले कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई पहिलो दर्जाको उपप्रधानमन्त्री बनाएर कायम मुकायम मुकर्रर गर्ने सोच बनाएका थिए । त्यसमा सरकारको दोस्रो ठूलो घटक एमालेले तीन वित्ता उफ्रेर नाइनास्ती गर्यो । यदि एमालेले मानेकै भए पनि यसले कांग्रेसभित्र निक्कै ठूलो रडाको मच्चिने थियो, एमालेको विरोधले त्यो स्थितिको पटाक्षेप भने हुन पाएन, यो बेग्लै कुरा हो ।
सुनिदैछ, आपतकालिन बाहेक सामान्य अवस्थामा मन्त्रिपरिषद्को बैठकसमेत नराख्ने सर्तमा वामदेव मुलुकका कार्यवाहक प्रधानमन्त्री भएका हुन् । यदि यही नै सत्य हो भने अब मुलुक गतिहीन मात्रै हैन, दिशाहीन पनि हुने छ । संविधान निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्ने र शान्तिलाई पुनर्वहाली गर्ने समेतको अतिरिक्त कार्यभार भएको सरकारको एक महिनासम्म बैठक नै नबस्ने हो भने त्यसबाट थल्लिने भनेको त देश न हो । यदि यही नै सत्य हो भने मुलुकका नम्बर १ उपप्रधानमन्त्री वामदेवले लिएको कार्यवाहक प्रधानमन्त्रीको अर्थ र औचित्य पनि के रह्यो र ? कार्यव्यापार नै नगर्ने कार्यवाहक । यदि उनले मन्त्रिपरिषद्को बैठक बोलाउन नै लगाए भने पनि कांग्रेस त्यसमा सहभागी भएर क्याविनेट प्रणालीमा निर्णय लिन देला भन्न सकिन्न । किनकि, कांग्रेसमा गठबन्धन संस्कारको पूरै खडेरी छ । यस्तो अवस्थामा सरकारको भविष्यमाथि त प्रश्नचिन्ह लाग्छ नै, यो सरकार ढल्न पनि सक्छ । यदि त्यसो नगरेर अर्को उपायका रुपमा कांग्रेसका तर्फबाट वरिष्ठ उपप्रधानमन्त्री थप्ने र कार्यवाहक चलाउन दिने भन्ने कुरा एमालेले डिम्किन पनि दिदैन । यस्तो अवस्थामा हुने त साँढेको जुधाई बाछाको मिचाइ नै हो । घामबाट होस् या रुखबाट सजाय त मुलुक र मुलुकबासीले नै पाउने हुन् ।
यस्तो परिस्थितिमा मुलुकले निकास चाँहि कसरी पाउँछ त ? त्यसको एउटै हल छ, प्रधानमन्त्री कोइरालाले स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिने र कांग्रेसका तर्फबाट अर्को प्रधानमन्त्री नियुक्त गर्ने । पहिलो त कोइरालाको जिनमै त्याग छैन, जुन जिनमै छैन, त्यो सुशील कोइरालाबाट होला भन्ने सोच्नु पनि असम्भव हो । यदि त्यसो भैहाल्यो भने फेरि कांग्रेसमा को प्रधानमन्त्री भन्ने कुरामा अर्को महासंग्राम हुनेछ, शेरबहादुर देउवा र रामचन्द्र पौडेलका बीचमा । त्यतिबेला शेखर, सुजाता र शंसाक नामका कोइराला पनि चुप लागेर बस्लान् भन्न सकिन्न । उता, महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि यही हो मौका भनेर मुख बाउन सक्छन् । जे होस्, यसबाट मुलुक फेरि अर्को घनचक्करमा फस्नेछ । कांग्रेसको आन्तरिक राजनीतिमा भने उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक सभापति दिएर कोइरालाले क्राइसिस म्यानेज्मेन्ट गर्नेछन् । त्यसो गर्दा शेरबहादुर देउवा स्वतः प्रधानमन्त्रीको दाबेदार हुनेछन् । तर, रामचन्द्र पौडेलको पहिलो रोजाइ भने प्रधानमन्त्री नै हुनेछ, त्यसो भए कांग्रेसको कार्यबाहक सभापति शेरबहादुर देउवालाई दिनुपर्ने हुन्छ, संस्थापन पक्षका लागि यो त्यति रुचिकर नहुन सक्छ ।
हुन त यी सबै हाइपोथेसिस मात्र हुन् । सम्भवतः अहिले र कहिले पनि नजाँचिने । तर यथार्थ चाँहि यतिबेला प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यसँग मुलुककै स्वास्थ्य मज्जैले गाँसिएको छ । अहिले उनी राजनिितक अस्थिरताको क्रोनिक रोग लागेको मुलुककै शल्यक्रिया गर्ने निर्णायक शल्य चिकित्सकको स्थानमा छन् । तर, आफैं पनि कैची नै समाउन नसक्ने अर्बुदरोगका रोगी । त्यो पनि अब त सम्भवतः दोहोरो अर्बुदरोगको सिकार छन् उनी । यस्तो अवस्थामा कोइरालाले आफ्नो स्वास्थ्यको ख्याल गर्दै प्रधानमन्त्रीे पदबाट राजीनामा दिएर मुलुक र मुलुकबासीको गति र दिशालाई मार्गप्रशस्त गरी दिनु नै सबैको हितमा छ । तर, कोइरालाले यसो गर्लान् भनेर कोही पत्याउन तयार छैन । कहिलेकाँही नपत्याउने खोलाले बगाउन पनि सक्छ किनकि असम्भव त मूर्खको डायरीमा मात्र हुन्छ । अब यसै पनि कोइरालाले पाउन बाँकी यो मुलुकमा केही छैन, पार्टी सभापति अनि मुलुकको प्रधानमन्त्री । हलिउडको हिरो हुन्छु भन्ने सपना देख्ने मान्छेका लागि योभन्दा अप्रत्यासित र ठूलो उपलव्धी के हुन सक्छ र ? यसै पनि अविवाहित उनका लागि अव यो लोक सपार्नु पनि छैन, सपार्ने भनेको परलोक मात्रै हो ।
अहिलेलाई यी सबै कुरा तपसिलमा राखौं र कामना गरौं, उनी स्वास्थ्यलाभ गरेर छिटै मुलुकमा फर्कुन् । यसैमा सबैको कल्याण छ । रोग जसलाई पनि लाग्न सक्छ, यस्तो बेला कसैको समवेदनामा खेल्नु अमानवीय कार्य हो । मनले बाँच्ने भूगोलका हामीबाट त्यस्तो कार्य असम्भव बनाइ दिउँ । अहिले सबैबाट अपेक्षा गर्ने भनेकै यही हो । बाँकी त उही गीताको सार छँदैछ नि, समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइदैन । प्रधानमन्त्री सुशील कोइरालालाई जति त यसको सान्दर्भिकता अरु कसलाई थाहा होला र ?, आगे, उनीहरु नै जानुन् ।













प्रतिक्रिया