काठमाडौं, १० असार । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले उपनिर्वाचनको परिणामले मुलुकमा वामपन्थीहरूप्रतिको आसा र भरोसा घट्दै गएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज र डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयले आयोजना गरेको कार्यक्रममा मन्त्री सिंहले वापन्थीहरूका क्रियाकलापले जनताको भरोसा समाप्त भएको बताए । ‘उपनिर्वाचनको परिणामले वामन्थीहरूबाट जनता निरास देखिएका छन्,’ उनले भने, ‘जनतामा अझैपनि कांग्रेसप्रति मायामोह छ ।’
एमाओवादी र एमालेका मतदाता घटेको तर्फ संकेत गर्दै उनले भने, ‘वामन्थी पार्टीहरूले बोल्ने र गर्ने कार्यबाट जनता आजित भएका छन् । त्यही भएर उनीहरूको मत घटेको छ ।’ कांग्रेसका महामन्त्री समेत रहेका मन्त्री सिंहले जनताले कांग्रेसप्रति भरोसा गरेकाले उनीहरूको आकंक्षालाई ध्यान दिएर काम गर्ने उल्लेख गरे ।
त्यसै गरी मन्त्री सिंहले सरकारको विरोध गर्दा आफ्नो जिम्मेवारीलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । विशेष गरेर कांग्रेस भित्रै र सत्तारुढ दलहरुबाट भइरहेका विरोधप्रति असन्तुष्ट सिंहले भने, ‘विरोध गर्नु प्रजातन्त्रको गहना पनि हो । तर विरोधले सरकारलाई रचनात्मक सहयोग हुनुपर्छ ।’
राष्ट्रिय शान्ति पुरस्कार जोशीलाई
यसैबीच, डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०७० सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । एक लाख नगदसहित कलात्मक सम्मानपत्रद्वारा उपप्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले जोशीलाई सम्मान गरे ।
डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०१३ म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई २०७१ साल असार १ गते हस्तान्तरण गरिएको थियो । यसअघि उक्त शान्ति पुरस्कार राष्ट्रपतिको दस्तखतसहित राष्ट्रपतिबाटै प्रदान गरिँदै आएको थियो ।















प्रतिक्रिया