जनकपुर, १० असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईसँग आफ्नो व्यक्तिगत कटुता नरहेको बताएका छन् ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भट्टराईसँग सामान्य सैद्धान्तिक बहस मात्रै हुने गरेको बताए । ‘बाबुराम भट्टराई र मेराबीच व्यक्तिगत कटुता नभई पार्टीलाई बलियो बनाउने सन्दर्भमा सौद्धान्तिक बहसको निरन्तरता भएको हो’, उनले भने ।
‘हामी एक आपसमा छलफल पनि गर्छौं र सधैँ मिलेका छौँ’, दाहालले भने, ‘दुवैको बीचमा झगडा रहेको कुरामा सत्यता छैन ।’
उनले भट्टराईले आफ्नो बहस व्यक्तिगत भागबन्डाका लागि नभई आर्थिक र समाजवादी क्रान्तिका लागि गरेको बताए ।
अध्यक्ष दाहालले उपनिर्वाचनको मतपरिणाम नौलो नरहेको टिप्पणी गरे । ‘उपनिर्वाचनको परिणाम नौलो होइन’, उनले भने, ‘संविधानसभाको निर्वाचनमा ती निर्वाचन क्षेत्रमा एमाओवादीले जस्तो स्थान प्राप्त गरेको थियो उपनिर्वाचनमा पनि सोहीअनुरुप परिणाम आएको हो ।’















प्रतिक्रिया