२९ आश्विन २०८३, बिहिबार

कैलालीमा १२ उम्मेदवारले जमानत जोगाउन सकेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Electionधनगढी, १० असार । आइतबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ६ का १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ ।

क्षेत्र नं ६ मा खसेको ३९ हजार ६ सय ६३ मतमध्ये सबै मत सदर भएकामा दश प्रतिशत अर्थात् तीन हजार ९ सय ६६ मत प्राप्त गर्न नसक्नेको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा जमानत जोगाउन नसक्ने प्रत्यासीमा फोरम लोकतान्त्रिकका लक्ष्मण थारुले तीन हजार ५ सय ८९, एमाओवादीका सुन्दरराज रेग्मीले एक हजार ७ सय ६६, थरुहट तराई पार्टीका भानुराम चौधरीले एक हजार २ सय ८८ रहेका छन् ।

मङ्सिरमा भएको निर्वाचनमा क्षेन नं ६ बाट नै प्रत्यासी रहेका फोरम लोकतान्त्रिकका थारुले चार हजार ४ सय ७३ मत र एमाओवादीकी प्रत्यासी लीला भण्डारीले चार हजार ७ सय ६४ मत प्राप्त गरी जमानत रकम जोगाएका थिए ।

उपनिर्वाचनमा थरुहट तराई पार्टीका प्रत्यासी भानुराम चौधरी मङ्सिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नं ३ बाट प्रत्यासी भई तेस्रो स्थानमा आएका थियो । उपनिर्वाचनमा एमाओवादी र फोरम लोकतान्त्रिकले अघिल्लो निर्वाचनभन्दा कम मत पाएका छन् ।

यसैगरी नेकपा (माले)की अम्बिका विष्टले ४ सय ६, सदभावना पार्टीका मुनिन्द्र सिंहले १ सय ३, राप्रपाका गङ्गाराम रानाले ३ सय १९, राष्ट्रिय जनमोर्चाका सूर्यप्रकाश साउदले ३ सय ६५, नेकपा (संयुक्त)की डम्मरादेवी धानुकले १ सय ३३, सङ्घीय सदभावनाका अर्जुनप्रसाद चौधरीले १ सय २०, नेमकिपाका रमेशकुमार रावलले १ सय ३, नेपाल कम्युनिस्ट पार्टीका हरिमोहन चौधरीले २ सय १० र सबैभन्दा कम ६१ मत पाएका नेपाल परिवार दलका रामप्रसाद चौधरीको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं ६ को उपनिर्वाचनमा विभिन्न दलका १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।