२९ आश्विन २०८३, बिहिबार

मन्दिर प्रवेश गर्न पाउँदैनन् दलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur_district_map

कञ्चनपुर, १० असार । जिल्लाका दलित समुदायका व्यक्तिले जातीय विभेदका कारण मन्दिर प्रवेश गर्न नपाउने गरेका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ कञ्चनपुरले दलित समुदायमाथि हुने जातीय विभेदबारे भीमदत्तनगरपालिका, दैजी, झलारी र सुडामा रहेका २४ वटाभन्दा बढी मन्दिरमा गरेको अनुगमनका क्रममा दलित समुदायका व्यक्तिलाई मन्दिर प्रवेश गर्न नदिएको पाइएको हो ।

मन्दिरहरुमा दलित समुदायका व्यक्तिलाई पुजारीले टीका नलगाउने, फुलप्रसाद मन्दिर बाहिरबाटै हात थापेर लिनुपर्ने र मन्दिर व्यवस्थापन समितिमा दलित समुदायका व्यक्तिको प्रतिनिधित्व नगराइएको पाइएको सङ्घका अध्यक्ष दिलाराम टमटाले बताउनुभयो ।

सार्वजनिक मन्दिरमा पूजा गर्न जाने दलितलाई पुजारीले नै भेदभाव गरी टाढैबाट प्रसाद दिने गरेको पाइएको छ । सयभन्दा बढी दलित समुदायका व्यक्तिलाई नमुनाका रुपमा मन्दिर प्रवेश गर्न दिइने÷नदिइनेबारे प्रश्न सोध्दा अधिकांशले मन्दिर परिसरमै प्रवेश गर्न नपाएको बताएको उहाँले उल्लेख गर्नुभयो ।

समाजमा चरम रुपमा जातीय विभेद कायम रहेको भन्दै उहाँले भन्नुभयो–“कानुनको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा दलित समुदायले सामाजिक पीडा खेप्नु परेको छ ।” दलित सङ्घका रमेश परियारले मानव भएर मानवप्रति विभेद गरिने दुखद् भएको बताउनुभयो ।

सार्वजनिक मन्दिरमा, पानी धारामा र विद्यालयमा दलित समुदायमाथिको विभेद नहट्नुका पछाडि सामाजिक कुसंस्कार जिम्मेवार रहेको उहाँले भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवदत्त अवस्थीले दलित समुदायमाथि मन्दिर प्रवेश गर्न नदिइनु गैरकानुनी हो भन्दै जातीय विभेद गर्नु कानुनी रुपमै अपराध भएकाले यस्तो अपराधमा संलग्न व्यक्तिविरुद्ध उजुरी गरे कारबाही हुने बताउनुभयो ।