१ कार्तिक २०८३, शनिबार

साहना प्रधानको स्वास्थ्यमा सुधार, चेत भने खुलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahana Pradhan

काठमाडौँ, ९ असार । वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँको अझै चेत खुल्न सकेको छैन ।

उपचारमा सङ्लग्न चिकित्सक डा सङ्गीतलाल कसजुले नेत्री प्रधानको स्वास्थ्यमा सुधार आइरहेको र फोक्सोको सङ्क्रमण कम भएकाले भेन्टिलेटरबाट बाहिर निकालिएको बताउनुभयो । प्रधान नेकपा (एमाले) की नेत्री हुनुहुन्छ ।

डा कसजुले भन्नुभयो, “उहाँको फोक्सोमा भएको सङ्क्रमण कम भएको छ, मस्तिष्कमा रगत जमेको थियो, मस्तिष्कघातको खतरा थियो तर अहिले धेरै सुधार आएको छ ।”

फोक्सोमा सङ्क्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालको सघन उपचार कक्षमा नेत्री प्रधानको उपचार भइरहेको छ ।

डा कसजुले नेत्री प्रधानको उमेरका कारणले हाडजोर्नीमा समस्या देखिएपनि मुख्य समस्या फोक्सोको सङ्क्रमण भएको र त्यो सुधार भएको हुनाले उहाँलाई भेन्टिलेटरबाट बाहिर निकालिएको जानकारी दिनुभयो ।

तीन वर्षदेखि अस्वस्थ रहनुभएका ८८ वर्षीया प्रधान छ महिनादेखि बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।

खनालद्वारा स्वास्थ्यस्थितिको जानकारी

यसैबीच, एमालेका अध्यक्ष झलनाथ खनालले सोमबार नेत्री प्रधानको स्वास्थ्य अवस्थाबारे सो अस्पतालमा पुगी जानकारी लिनुभएको छ ।

अध्यक्ष खनालले नेत्री प्रधानको अवस्थामा सुधार आएपनि उहाँको अझै चेत नखुलेको पत्रकारलाई बताउनुभयो । उहाँले पार्टीका तर्फबाट नेत्री प्रधानको स्वास्थ्यलाभको कामना गर्नुभयो ।