महाधिवशेनका लागि मुलुकभरबाट प्रतिनिधि छनोटको काम करिब–करिब सम्पन्न भएको स्थिति छ । प्रतिनिधि छनोटसँगै तपाईँले आगामी महाधिवशेनबारे कस्तो आँकलन गर्नुभएको छ ?
मुलुकभरिबाट निर्वाचन मार्फत अथवा सर्वसम्मत रुपमा छनोट भएर आएका दुबैखाले प्रतिनिधिको सन्र्दभमा कुरा गर्ने हो भने करिब ७० प्रतिशत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा खुलेर लागेको देखिन्छ । आगामी नवौँ महाधिवेशनमा एमालेले प्रमुख रुपमा उठाएको मुद्दा भनेको पनि नेतृत्व हस्तान्तरण नै हो । यसरी हेर्ने हो भने मुलुकभरको प्रतिनिधि छनोटलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । उपनिर्वाचन भएका केही क्षेत्र र अन्य केही जिल्लाको प्रतिनिधि छनोटको अन्तिप परिणाम आएको छैन । ती सबै ठाउँबाट प्रतिनिधि छनोट भएर आउँदा हामीले कम्तीमा पनि आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण गरेर जानुपर्छ भन्ने ६५ प्रतिशत प्रतिनिधि आउनुहुन्छ भन्ने अनुमान गरेका छौँ । अहिलेसम्म जुन खालको प्रतिनिधि छनोट भएको छ, यसले सकारात्मक संकेत देखाएको छ । यसले हामीलाई उत्साहित पनि बनाएको छ ।
तपाईंको भनाइलाई आधार मान्ने हो भने अब सर्वसम्मत नेतृत्व छनोट गर्ने सम्भावना बलियो हुँदै गएको हो त ?
अहिले केही साथीहरुले शतप्रतिशत झुट्टा कुरा गरेर सर्वसम्मत नेतृत्व छनोटप्रति भाँजो हाल्ने काम गर्दै आउनु भएको छ । अहिले पछिल्लो समयमा मुलुकभरीबाट प्रतिनिधि छनोट भएर आएको कुरालाई पनि उहाँहरुले शतप्रतिशत झुट्टा कुरा प्रचार गरेर प्रतिनिधिलाई नै भ्रमित पार्ने काम गर्नु भएको छ । मुलुकभरबाट करिब ६५ देखि ७० प्रतिशत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा मत हाल्ने आउने करिब–करिब निश्चित छ । हामी त्यही भनिरहेका छौँ । तर, उहाँहरु (माधवकुमार नेपाल समूह) जसको मुस्किलले ३५ प्रतिशत पनि प्रतिनिधि छनोट हुनुभएको छैन । उहाँहरुले ७० प्रतिशतका कुरा गरेर गोयवल्स शैलीमा प्रतिनिधिलाई नै भ्रममा पार्ने काम गर्नुभएको छ । त्यसले सर्वसम्मत नेतृत्व छनोटका लागि अवरोध गरेको छ र त्यसले समस्या पनि सिर्जना गरेको छ । उहाँहरुले मनौवैज्ञानिक रुपमा आफ्नो हार स्वीकार गर्नुभएको छ । साथीहरुलाई आफ्नो पक्षमै राखी राख्नका लागि अहिले उहाँहरुले यस्तो भ्रम सिर्जना गरेको हो जस्तो मलाई लागेको छ । यदि ७० प्रतिशत प्रतिनिधि उहाँहरुको पक्षमा आएका हुन् भने उहाँहरुले विभिन्न खालका आरोप लगाउनु पर्ने कुनै कारण नै छैन । उहाँहरुले एक हिसावले भन्ने हो भने मैले माथि पनि उल्लेख गरेँ भित्री रुपमा हार स्वीकार गरिसक्नु भएको छ । केपी ओली समूहले विभिन्न ठाउँमा प्रतिनिधि छनोट कार्यमा अवरोध गरे भन्ने आरोप पनि त्यसैको उपज हो । तर, अझै पनि मलाई लाग्छ । अन्तिम सम्ममा माधवकुमार जस्तो व्यक्तित्वले पार्टीभित्र अझ समस्या सिर्जना गरेर जानु हुँदैन भनेर केपी शर्मा ओलीलाई समर्थन गर्नुहुन्छ । उहाँले ओलीलाई समर्थन गरेको अवस्थामा सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना ज्यादा छ ।
तर, वरिष्ठ नेता माधवकुमार नेपालले त म कुनै पनि हालतमा खुट्टा कमाउँदिन मैदानमा लड्न जो आए पनि तयार छु भन्नु भएको छ नि त ?
त्यस्ता खालका अभिव्यक्ति आफू कमजोर भएपछि दिने अभिव्यक्ति हुन् । अहिले उहाँहरु गोयवल्स शैलीमा अघि बढिरहनु भएको छ । झुटहरुलाई सयौँ पटक सत्य भनेर सत्य सावित गर्ने त्यो शैली उचित शैली होइन । अहिले विभिन्न खालका आरोप उहाँहरुले नेता केपी शर्मा ओलीलाई त्यही तरिकाले लगाउने गर्नु भएको छ । त्यसको कुनै अर्थ छैन ।
पछिल्लो समय माधवकुमार देश दौडाहामा लाग्नु भयो । तर, केपी शर्मा ओली स्वास्थ्यका कारण कहीँ कतै पनि जान सक्नु भएन । अहिले नेपालको त्यही देश दौडाहालाई आधार मानेर नेपालका पक्षमै महोल आएको भन्ने चर्चा गरिएको छ । यो सत्य हो ?
अहिले पनि उहाँहरु लिगलिगकोटे राजाको दौडमा विश्वास गर्दै हुनुहुन्छ भन्ने कुराको यो गतिलो उदाहरण हो । पहिला–पहिला लिगलिग कोटमा दौड जसले जित्छ । त्यो राजा हुने चलन थियो । अहिले त्यो आदिम सभ्यता बनेको छ । उहाँहरु अहिले पनि त्यही कुरा गरिरहनु भएको छ । धेरै दौडेर नेता बन्ने जमाना अहिले छैन । अहिले जसले विचार दिनसक्छ । त्यो नेता बन्छ । धारो उद्घाटन, सानो बाटो, बाख्रा पालन, पार्टी–पौवाको उद्घाटन गरेर मात्र कोही नेता बन्दैन । अनि म सबैभन्दा बढी जिल्लामा पुगेँ भन्ने तर्कका आधारमा नेता बन्न सकिन्न । नेतृत्व लिनका लागि निश्चित योग्यता, क्षमता, योगदान लगनशीलता आवश्यक हुन्छ । सबै कुराको संयोजनसहित पार्टी र मुलुकलाई ड्राइभ गर्नसक्ने व्यक्ति नेता बन्ने हो । अहिले मदनकुमार भण्डारी, कार्ल माक्र्स हुनुहुन्न । तर, उहाँहरुको विचार अहिले पनि जीवित छ । उहाँहरुको विचारबाट हामी अहिले पनि निर्देशित छौँ । दौडेकै भरमा नेता बन्ने हो भने अन्तराष्ट्रियस्तरमा पनि ख्याति कमाएका धावक वैकुण्ठ मानन्धरलाई नेता बनाउनुपर्ने हुन्छ । त्यसैले यस्ता तर्कको पछि लाग्नुपर्छ भन्ने मलाई लाग्दैन ।
भनेपछि आगामी महाधिवेशनबाट केपी शर्मा ओलीले जुन विचार बोक्नु भएको छ । त्यही विचारलाई सही ठान्दै उहाँलाई नै अध्यक्ष बनाउने तपाईंको तर्क हो ?
यो मेरो मात्र तर्क होइन । एमालेका आमकार्यकर्ताको तर्क पनि यही हो । मदन भण्डारीको मृत्युपछि, जुन विचार बोकेर नेता केपी शर्मा ओली हिँड्नु भएको छ । त्यो विचार सही छ । जनताको बहुदलीय जनवाद जस्तो विचार अहिले नेता ओलीले बोकेर हिँड्नु भएको छ । पार्टी भित्रको आन्तरिक लोकतान्त्रिकरण र पार्टी भित्रको बहुपदीय प्रणाली पनि ओलीकै विचार हो । त्यसैलाई आधार मान्दै बुटवलमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनमा एमाले बहुपदीय प्रणालीमा गयो । यसरी हेर्दा पाचौँ महाधिवेशनदेखि नै विचारको नेतृत्व केपी ओलीले नै गर्दै आउनु भएको छ । उग्रवामपन्थताको विरुद्ध लड्ने व्यक्ति पनि केपी ओली नै हो । यी सबै हिसावले हेर्ने हो भने केपी ओलीले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व गर्ने कुरामा कुनै दुईमत छैन । जसको विचार उसकैको नेतृत्व भन्ने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हामी भएकाले पनि उहाँलाई नै नेतृत्वमा लैजानुको विकल्प छैन ।
आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै नेतृत्व दिनुपर्ने कारणहरु बुँदागत रुपमा भन्दा के–के छन् ?
पहिलो कारण मैले माथि पनि उल्लेख गरेँ । कम्युनिष्ट पार्टीमा जसको विचार उसैको नेतृत्व हुन्छ । अहिले नेकपा एमालेले केपी ओलीको विचार बोकेर हिँडेको छ । त्यसैले उहाँले नै नेतृत्व लिनुपर्छ ।
दोस्रो कुरा, जनताको बहुदलीय जनवादको पक्षमा वकालत गर्ने हाम्रो पार्टीमा बहुमत सदस्य छन् । त्यसको नेतृत्व ओली नै गर्नु भएको छ ।
तेस्रो कुरा मुलुकको सम्वृद्धि र आर्थिक विकासको खाका कोर्न पनि नेता ओलीको नेतृत्व नै एमालेलाई आवश्यक छ । मुलुकको सम्वृद्धि, आर्थिक विकास र पार्टीलाई मजवुत बनाएर लैजानका लागि हामीले लिगलिगेकोटको राजाले हुँदैन, सिंगो पार्टी र मुलुकको नेतृत्व गर्न लक्ष्य र उद्देश्यमा स्पष्ट भएको नेता चाहिन्छ भनेका छौँ । त्यो क्षमता नेता ओलीमा छ । संगठनात्मक क्षेत्रलाई व्यवस्थापन गर्नका लागि पनि ओली नै अध्यक्ष बन्नुको विकल्प छैन । कुटनीतिक र अन्तरारष्ट्रिय सम्वन्ध विस्तारका लागि पनि ओलीको विकल्प छैन ।
यसपटक हामीले झापा आन्दोलनको विरासतको पनि सम्मान गर्नुपरेको छ, त्यो आन्दोलनलाई समर्थन गर्न पनि त्यो आन्दोलनको नेता जसले १४ बर्ष जेल जीवन विताउनुभयो । उहाँको सम्मानमा पनि एकपटक पार्टी अध्यक्ष बनाउनुपर्छ ।
मुलुकभरबाट छनोट भएर आएका प्रतिनिधिलाई तपाई के भन्नु हुन्छ ?
नेकपा एमालेसँग अथाह सम्भावनाहरु रहेका छन् अनि त्यत्तिकै चुनौति पनि । अहिले हाम्रो सामु जनताको बहुदलीय जनवादलाई व्यवहारमा लागु गरेर अघि बढ्ने ठूलो चुनौती छ । यो चुनौतीको सामना गरेर जानका लागि पनि नेता ओलीलाई अध्यक्ष बनाउनुपर्छ । मुलुकको कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गरेर अघि बढ्न सक्ने पार्टी निर्माण गर्न पनि नेता ओलीको विकल्प छैन । हो, यही कुराको मनन् गरेर अहिले केन्द्रीय कमिटीमा रहनु भएका अधिकांश बरिष्ठ नेताहरुले ओलीलाई समर्थन गर्नुभएको छ । उपाध्यक्ष महासचिव, सचिवलगायतको समर्थन पनि अहिले ओलीलाई नै छ । यसरी हेर्दा उहाँ अहिले आफ्ना लागि भन्दा पनि पार्टी र देशका लागि आवश्यक व्यक्ति बन्नु भएको छ । म आम प्रतिनिधिलाई यही कुराको मनन् गर्दै आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्छु । हामीले कम्युनिष्ट पार्टीको स्थापनाको शताव्दी लक्षप्राप्त गर्ने उद्देश्य बोकेका छौँ । यो उद्देश्य प्राप्तिका लागि पनि ओलीको समुहमा रहेका नेताहरुलाई विजयी बनाउन आवश्यक छ ।
सबैलाई चुनाव लागेको छ, तपाई चाँहि आगामी महाधिवेशनमा कुन पदमा उठ्ने तयारी गर्दै हुनुहुन्छ ?
मलाई पार्टीले मेरो योग्यता, क्षमता हेरेर जुन जिम्मेवारी दिन्छ । त्यो जिम्मेवारी ग्रहण गर्न तयार छु ।
तर, पनि उपाध्यक्ष या सचिवको चर्चा छ नि ?
अहिले छलफलमै छु । टुंगो लागेपछि भन्छु ।
त्यसो भए पदाधिकारी लड्ने चाँहि पक्का हो होइन त ?
पदाधिकारी लड्ने पक्का हो । बेला पनि भइसक्यो । २०५४ सालदेखि केन्द्रीय कमिटीमा छु । त्यसैले देशभरका साथीहरुको सुझाव अनुसार पदाधिकारी लड्ने निधो गरेको छु ।












प्रतिक्रिया