काठमाडौ, ८ असार । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादीलाई संविधानसभाबाट बाहिर ल्याउन कार्यगत एकता गरेको खुलासा गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले आइतवार गरेको साक्षात्कारमा उनले अहिलेको संविधानसभाबाट जनमुखि संविधान आउनै नसक्ने भएकोले त्यसमा रहनुको कुनै अर्थ नरहेको दावी गर्दै एमाओवादी संविधानसभाबाट बाहिरिएपछि मात्रै पार्टी एकता सम्भव हुने जिकिर गरे ।
साक्षात्कारमा गजुरेलले नेपाली काँग्रेस र नेकपा एमालेले कुनै पनि हालतमा यहि संविधानसभाबाट संविधान जारी गर्ने दावी गर्दै एमाओवादी संविधानसभामा बस्नुको औचित्य नरहेको बताए ।
उनले अहिले केही एजेण्डालाई लिएर एमाओवादीसहित पाँच माओ विचारधारा बोकेका दलहरुवीच कार्यगत एकता भएको स्पष्ट पार्दै एमाओवादीले आफूहरुले अघि सारेको ६ बुँदे प्रस्तावलाई पूर्ण रुपमा आत्मसात नगरेसम्म पार्टी एकीकरण सम्भव नहुने स्पष्ट पारे । उनले भने– ‘यो पार्टी एकताको लागि गरिएको कार्यगत एकता होईन, अहिलेकै अवस्थामा पार्टी एकता सम्भव छैन ।’
गजुरेलले कार्यगत एकता भएपछि त्यसको संयोजक चक्रिय प्रणालीमा हुने जानकारी दिँदै जसको पार्टी कार्यालयमा बैठक बस्छ, ऊ नै त्यसवेलाको संयोजक हुने गरी ब्यवस्था मिलाइएको बताए ।
जन–जीविकाको सवाल र जनशक्ति बर्हिगमनको अवस्था भयावह भए पनि अर्थमन्त्रीले रेमिट्यान्स आएको भन्दै नाक फुलाउनु लाजमर्दो भएको भन्दै यसको समाधानको लागि आन्दोलनको आवश्यकतामा जोड दिए । दैनिक विदेशिन बाध्य भएका युवाहरुको पंक्तिले नेपालको कृषि अर्थतन्त्रको अस्तित्व नै खतरामा पर्ने समेत गजुरेलले औल्याएका छन् ।
जनताको सहभागिता नभएको उपनिर्वाचनको कुनै सान्र्दभिकता नभएको दावी गर्दै गजुरेलले देशको पैसा त्यसै वर्वाद हुने उपनिर्वाचन नहुनेगरी कुनै पनि नेतालाई दुई ठाउँबाट उठ्न नदिने ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयमा आफूहरुलाई कुनै चासो नभएको भन्दै छिमेकी देशको प्रधानमन्त्रीको भ्रमणलाई लिएर आफूहरुको आपत्ति नरहेको उनले स्पष्ट पारे । यद्यपि उनले पश्चिम सेती, कर्णाली जस्ता ठूला नदिमा चासो दिनुले भने चिन्ता बढाएको बताए ।
उनले नेपालका लागि भारतीय राजदुत रञ्जित रेले सुस्ता र महाकाली बाहेक सबै सीमा विवाद मिलेकोले हस्ताक्षर गर्न गरेको आग्रहलाई खतरनाक योजनको संज्ञा समेत दिए ।















प्रतिक्रिया