१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा भोटिङ मेसिनले धोका दियो, डेढ घण्टा ढिलो मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Election

काठमाडौँ, ८ असार । विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या देखिएपछि अवरुद्ध भएको कोटेश्वर महादेवस्थानस्थित सरस्वती माध्यमिक विद्यालय मतदानस्थल ‘घ’ केन्द्रको मतदान प्रक्रिया डेढ घण्टापछि सुरु भएको छ ।

नयाँ मेसिनको व्यवस्था गरिएपछि ८:३० बजेदेखि सो केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ ।

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. २ मा संविधानसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको मतदान जारी छ ।

नेपालको इतिहासमा संविधानसभाबाट संविधान बनाउने प्रयोजनका लागि भएको निर्वाचनमा यस क्षेत्रका मतदाता तेस्रोपटक मतदानमा सहभागी हुँदैछन् ।

मतदानका लागि सबेरै मतदान केन्द्रमा पुग्नेमध्ये महिला मतदाताको संख्या बढी देखिएको छ । ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुका लागि सजिलो र सुविधाका साथ मतदान गर्न सजिलो होस् भनेर लाइनमा उनीहरुलाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ ।

यसपटक मतदानका लागि प्रयोग भएको भोटिङ मेसिनका कारण अघिल्लो निर्वाचनको तुलनामा मतदान गर्न तुलनात्मक रुपमा सजिलो हुने अपेक्षा गरिएको छ । यो निर्वाचन क्षेत्रबाट २०७० सालमा भएको निर्वाचनमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी हुनुभएको थियो ।

नेता नेपाल दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभई यो क्षेत्र छोड्नुभएका कारण उपनिर्वाचन हुन लागेको हो ।

अघिल्लो निर्वाचन जस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र राप्रपाका उम्मेदवारबीच नै बढी हुने विश्लेषण गरिएको छ । मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहानदेखि निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलका प्रतिनिधिहरु निर्वाचन केन्द्रमा खटिसकेका छन् ।