काठमाडौं, ८ असार । एसएलसीमा राम्रो अंक ल्याएर विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण हुनेहरु पनि परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुनर्योग गराउन धाइरहेका छन्। धेरै प्रतिशत ल्याएमा निजी प्लस टुहरुबाट राम्रो सेवासुविधा पाउने आसमा पुनर्योग गराउन आएको विद्यार्थी बताउँछन्।
कीर्तिपुरमा रहेको ल्याबोरेटोरी उमाविबाट ८३ प्रतिशत अंक ल्याएका अपिल सिग्देललाई आफ्नो अंक चित्त बुभेन। परीक्षामा लेखेअनुसार ९० प्रतिशतभन्दा माथि अंक ल्याउने आसमा थिए। तर निकै कम प्रतिशत आएपछि उनले आइतबार पनिकामा ऐच्छिक गणित र नेपालीमा पुनर्योग गराउन निवेदन दिए।
उनको ऐच्छिक गणितमा ९३ र नेपालीमा ६४ आएको छ। ‘मैले लेखेअनुसार ओपिटी म्याथमा सय आउनुपर्ने र नेपालीमा ८० अंक आउनुपर्ने हो,’ अपिलले नागरिकसँग भने। ९० प्रतिशतमाथि अंक ल्याउनेलाई प्लस टुहरुले राम्रो सेवासुविधा दिने हुँदा आफू पुनर्योग गराउन आएको उनले खुलाए।
यसैगरी, काठमाडौंका सुजन तिमल्सिनाले प्राप्तांकमा चित्त नबुझेर सामाजिक विषयमा पुनर्योगका आवेदन दिएका छन्। उनले एसएलसीमा ८६ प्रतिशत अंक ल्याएका छन्। उनको अन्य विषयमा प्राप्तांक ठीक भए पनि सामाजिक शिक्षामा ५७ नम्बर मात्र आएकाले नम्बर बढ्ने आसमा पुनर्योगको निवेदन दिएको उनले जनाए।
बानेश्वरमा रहेको रिलायन्स बोर्डिङ स्कुलकी छात्रा सृष्टि गुरुङ पनि पुनर्योगका लागि पनिकामा पुगिन्। उनले एसएलसीमा ७९ प्रतिशत ल्याएकी छन्। एक नम्बरले गर्दा विशिष्ट श्रेणी गुमाउनुपरेकोमा उनको गुनासो छ। एसएलसीमा ९० प्रतिशत ल्याउने उनको लक्ष्य थियो।
‘गणित, नेपाली र सामाजिक शिक्षामा कम नम्बर आयो जबकि मैले गणितमा सयको सबै मिलाएको थिएँ,’ सृष्टिले भनिन्, ‘त्यही भएर मैले प्रतिविषय तीन सयको दरले ९ सय तिरेर तीन वटै विषयमा पुनर्योगका लागि निवेदन दिएँ।’ त्यसबाट पनि चित्त नबझुे उत्तरपुस्तिका हेर्ने निवेदन दिने उनको विचार छ।
एसएलसी नतिजा जेठ ३० गते निस्केपछि असार १ देखि नै पनिकामा पुनर्योग गराउने विद्यार्थीको लर्को लागेको छ। लेखा अधिकृत रवि रानाका अनुसार पनिकामा पुनर्योग गराउने विद्यार्थी मात्र दैनिक ६ सय हाराहारी आउँछन्। नागरिक दैनिकबाट













प्रतिक्रिया