काठमाडौँ, असार ७ । विसं २०४६ को प्रजातन्त्र स्थापनापछि सबैभन्दा बढी मतदान गर्ने भाग्यमानी मतदाता काठमाडौँ क्षेत्र नम्बर २ का बनेका छन् । त्यस क्षेत्रका मतदाताले आइतवार हुने उपनिर्वाचनमा सहभागी हुँदा आठ पटक मतदान गर्ने सौभाग्य प्राप्त गर्ने छन् ।
विसं २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी तत्कालीन नेकपा (एमाले)का मदन भण्डारी विजयी भए पछि नै यो क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा हुँदै आएको छ ।
२०५१ को मध्यावधि संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीलाई पनि यसै क्षेत्रका जनताले विजयी गराएका थिए । गणतन्त्र स्थापना भएपछि विस २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा एमाओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीले विजयी हुनुभयो । उहाँले एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाललाई पराजित गराउनु भएको थियो ।
त्यो बेला पनि यो क्षेत्रको चर्चा कम रहेन । त्यही क्षेत्रमा हारेका कारण नेपालले नैतिकताका आधारमा पार्टी महासचिवबाट समेत राजीनामा दिनु भएको थियो । त्यस पछि उहाँ मनोनित सभासद् हुँदै प्रधानमन्त्रीसम्म्म बन्नु भयो । नेपालसहित त्यस क्षेत्रका मतदाताले मत हालेका तीन जना मुलुकका प्रधानमन्त्री भए ।
गत मङ्सिर ४ मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा त्यस क्षेत्रबाट एमालेका वरिष्ठ नेता रहनु भएका नेपाल विजयी हुनुभयो । उहाँले रौतहतबाट पनि निर्वाचन जित्नु भएकाले उहाँले उक्त क्षेत्र छाड्नु भयो । उहाँले छाडेपछि आठौँ पटक यहाँका जनताले मतदान गर्ने शौभाग्य पाएका छन् ।
यस पटकको निर्वाचनमा कांग्रेसका दीपक कुँइकेल , एमालेका कृष्णगोपाल श्रेष्ठ र एमाओवादीका लीलामणि पोखरेललगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदानको व्यग्र प्रतिक्षामा रहेका मतदानले यो क्षेत्रबाट कसलाई विजयी वनाएर पठाउने हुन त्यो भने हेर्न बाँकी नै छ ।














प्रतिक्रिया