काठमाडौं, ६ असार । पशुपतिनाथ मन्दिरमा नियुक्त भएका नयाँ मूल भट्ट गणेश भट्टले बिहीबारदेखि जिम्मेवारी समालेका छन्।
यसअघिका मूल भट्ट महाबलेश्वर भट्टले सिफारिस गरेका गणेशलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले स्वीकृत गरेपछि कोषका संरक्षक प्रधानमन्त्री सुशील कोइरालाले गत सोमबार उनलाई नियुक्त गरेका थिए।
बिहीबार बिहान महाबलेश्वरले मन्दिरको गर्भगृहमा नयाँ मूल भट्टलाई वैदिक र श्रीयन्त्रको तान्त्रिक पूजा विधिबारे दीक्षा दिएका थिए। दीक्षा दिनुअघि कोषका सदस्यसचिव गोविन्द टन्डनले गणेशलाई शपथ खुवाएका थिए।
मन्दिर प्रवेश गर्नुअघि गणेशलाई पन्चेबाजासहित कोषका पदाधिकारी, निर्देशक, भण्डारी, बिसेट, रैरकमी र सुरक्षाकर्मीले पशुपति परिसरमा रहेका एक दर्जनभन्दा बढी मठमन्दिर र शिवालय परिक्रमा गराएका थिए। बिहान आठ बजे पशुपतिनाथको पूर्वढोकास्थित ब्रह्मनालछेउको शिवलिंगबाट पूजा सुरु गरी उनी क्रमशस् बत्सलेश्वरी, जयबागेश्वरी, भण्डारेश्वर, ताम्रेश्वर, खञ्नेश्वर, कृष्णेश्वर, पाँचु गणेश, झंकेश्वर, अमलेश्वर, मानो सरावर्तस्थित शिवालय र रुद्रगाडेश्वर मन्दिर पुगेका थिए।
गणेश पुनस् बागमती नदीकिनार हुँदै भष्मेश्वरस्थित पाँच शिवलिंग, दक्षिणतर्फबाट मन्दिर क्षेत्र प्रवेश गरी मूल भट्टको निवासस्थित शिवलिंगको दर्शन र स्पर्शन गरेपछि मूल भट्ट महाबलेश्वरलाई अघि लगाएर दक्षिण ढोकाबाट गर्भगृहमा प्रवेश गरेका थिए।
शपथ र दीक्षापछि महाबलेश्वरले गणेशलाई बहुमूल्य सामग्री बरबुझारथ गरी तालासाँचो हस्तान्तरण गरेका थिए। हस्तान्तरणपछि पौने दस बजे उनी मन्दिरबाट बाहिरिएका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया