काठमाडौँ, ५ असार । नेकपा एमालेको नवौँ महाधिवेशन उद्घाटनको दिन आउन केही दिन मात्र बाँकी रहेका बेला उक्त दललाई महाधिवेशनको रन्कोले छोएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको निर्वाचनका लागि बिहीवार अधिकांंश जिल्लामा मनोनयन दर्ता भएसँगै महाधिवेशनको रन्को अझ बढेको हो ।
आगामी असार ८ मा संविधानसभाको उपनिर्वाचन हुने चार जिल्ला, सर्वसम्मत प्रतिनिधि छनोट भएका र अन्य केही जिल्ला बाहेकमा असार ७ गते प्रतिनिधि छनोट हुँदैछ । त्यसका लागि बिहीवार मनोनयन भइसकेको छ । एमाले केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार निर्वाचनका लागि प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा अलग–अलग निर्वाचन समिति गठन गरी मनोनयनपत्र दाखिला भएको छ ।
एमालेले आगामी असार ७ गतेका लागि प्रतिनिधि छनोटका लागि समय तोकेको छ । उक्त समयावधी भित्रै सकेसम्म सहमतिमा प्रतिनिधि छनोट गर्ने एमालेको तयारी रहेको छ । यदी सहमति नभए एमालेले उक्त दिन चुनावबाट प्रतिनिधि छनोट गर्ने बताएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच आगामी नवौँ महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने करीब–करीब निश्चित भएपछि दुबै समुह अहिले आ–आफ्नो पक्षमा प्रतिनिधि तान्न लागि परेका छन् ।
दुबै समुहको रस्साकस्सीका कारण अधिकांश जिल्लामा निर्वाचन हुने अनुमान गरिएको छ । यद्यपी रसुवा, तेह्रथुम, ताप्लेजुङ र सोलुखुम्वु जिल्लामा भने सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।
संविधानसभाको उपनिर्वाचनका कारण उपत्यकाका तीन जिल्लामा आगमी ७ गते प्रतिनिधि छनोट नहुँने भएको छ । त्यस्तै काभ्रे, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, रामेछापमा पनि ७ गते प्रतिनिधि छनोट नहुने भएको छ । बाँके, दाङ, चितवन, बर्दिया, सेती अञ्चल, केन्द्रीय विभाग र जनसंगठनहरुको पनि ७ गते प्रतिनिधि छनोट नहुने भएको छ । त्यसरी स्थगन भएका सबै जिल्लामा आगामी असार १० गते निर्वाचन गर्ने तयारी एमालेले गरेको छ । एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि इन्चार्ज समेत तोकेको छ ।
यसैबीच नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका लागि ओली पक्षले सरकारी गाडी दुरुपयोग गरेको भन्दै नेपाल पक्षले त्यसको कडा शव्दमा आलोचना गरेको छ ।
नेपाल समूहको सचिवालयबाट जारी विज्ञप्तिमा ऊर्जा मन्त्री राधा ज्ञवालीले एमाले महाधिवेशनका प्रतिनिधि छनौटका लागि कार्यकर्ता ओसार्न मन्त्रालयको वा ३ ख ४०५२ नम्बरको गाडी रुपन्देहीमा दरुपयोग गरेको आरोप लगाएका छन् । मन्त्रालयको गाडीलाई रातो प्लेट बनाएर ऊर्जामन्त्री राधा ज्ञवालीलका स्वकीय सचिव राजेन्द्र ढकालले दुरुपयोग गरेको नेपाल पक्षको आरोप छ ।
















प्रतिक्रिया